काठमाडौं । अर्थ मन्त्रालयले राजश्व उठाउन कडाईं गरेको भनिएता पनि पर्याप्त मात्रामा राजश्व उठ्न सकेको छैन । एकातिर व्यापार व्यवसाय खस्किँदै गएको छ भर्ने अर्कोतिर ठूला व्यापारीहरुले कर छली गर्ने कारणले सरकारले अनुमान गरे अनुसारको राजश्व उठाउन सकेको छैन ।
यस्तै सरकारले बढी राजश्व उठ्ने क्षेत्रलाई नियमन गर्न पनि सकेको छैन । खाली दायरामा आएका साना लगानीका स्वरोजगारमूलक घरेलु तथा साना उद्योग व्यवसायको मात्रै मुख ताक्ने गरेको छ । शहरी क्षेत्र जहाँ ठूलो मात्रामा राजश्व उठ्ने क्षेत्र हो, त्यस्ता निकायमा सरकारले ध्यान दिन सकेको छैन ।
वास्तवमा घर बहाल कर घरधनीले तिर्नुपर्नेमा उल्टै भाडावालाहरुले घर बहाल कर तिर्नुपरेको छ । घर धनीलाई भाडा बुझाउने र घरबहाल कर वडालाई बुझाउनु पर्ने कारणले साना उद्योगी व्यावसायीहरु विस्तारै पलायन हुँदै गएका छन् । उता, ठूला व्यापारीहरुले नक्कली बिल प्रयोग गरेर कर छली गरिरहेका छन् ।
नेपाल सरकारले अधिकांश निजी स्कूल, कलेज, म्यानपावर कम्पनी, कन्सल्टेन्सी, गैरसरकारी संघ संस्था, सहकारी, फाइनान्स, हाइड्रोपावर कम्पनीदेखि बैंक तथा वित्तीय संस्थाहरुले कर छली गर्दै आएका छन् ।
त्यसैगरी ठूला होटेल, रात्रीकालीन डान्सवार, क्लब, रेष्टुरेन्ट, निजी रुपमा सञ्चालित ठूला ठूला प्राइभेट अस्पताल, विभिन्न क्लब लगायतका क्षेत्रबाट ठूलो मात्रामा कर छली हुँदा सरकारले ध्यान दिन सकेको छैन । तर, झोले, पोके, फुटपाथे व्यापारीदेखि साना चिया पसल, बेकरी, क्याफे जस्ता साना लगानीका व्यापारीलाई बढी निगरानी गर्ने गरेको पाइन्छ ।
सरकारले साना व्यापारीलाई दुःख दिएर काम गरेजस्तो देखाउने तर ठूला व्यापारीलाई उम्काएर कमिसन खाने काम भइरहेको व्यापारीहरु नै बताउँछन् । अहिले सबैभन्दा बढी राजश्व छली निजी कलेज, म्यानपावर कम्पनी र कन्सल्टेन्सीहरुले गर्दै आएका छन् । त्यतातिर सरकारले ध्यान दिएको देखिँदैन ।




