रौतहट । इशनाथ नगरपालिका वडा नम्बर ७ घिउरामा सरस्वतीको मुर्ती सेलाउने विषयलाई लिएर भएको झड्पपछि अनिश्चितकालिन लगाइएको निषेधाज्ञा बुधबार साँझ ५ बजेदेखि हटाउने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा जारी गरिएको पत्रमा इशनाथको अवस्था सामान्य बन्दै गएपछि साँझ ५ बजेदेखि पूर्ण रुपमा निषेधाज्ञा हटाइएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा हस्ताक्षरित “कर्फ्यू आदेश हटाइएको” सूचनामा भनिएको छ, इशनाथ नपा ७ स्थित घिउरा गाउँमा सरस्वती पुजाको मुर्ती विसर्जन गर्ने क्रममा हिन्दु-मुस्लिम दुबै समुदाय बीच उत्पन्न भएको विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम गर्न गत ५ गते बेलुका ५ बजे देखि अर्को आदेश नभएसम्मको लागि इशनाथ नपाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ मा तोकिएको चार किल्ला सहितको स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को क (१) बमोजिम कर्फ्यु आदेश जारी गरिएकोमा हाल अवस्था सामान्य भइसकेकोमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) को ५ बमोजिम बुधबार साँझ ५ बजेदेखि लागु हुने गरी पूर्ण रुपमा हटाइएको उल्लेख छ ।





