रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको नगरसभाले वडा नम्बर ३ लाई छुट्टै स्थानीय तह बनाउने निर्णय गरेको छ । फागुन ५ गतेमा बसेको नगरसभाले वडा नं. ३ को वडा समितिले गरेको निर्णयलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । वडा नं. ३ को समितिले भूगोल र प्रशासनिक क्षेत्रलाई छुट्टै गाउँपालिका बनाउन माग गर्ने निर्णय गरेको थियो ।
हाल ७५३ स्थानीय तह रहेकामा चन्द्रपुर नगरपालिकाले ७५४ औं स्थानीय तहका रुपमा ‘गैैंडाटार गाउँपालिका’ स्थापना गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । तर, नगर प्रुमख सञ्जयकुमार काफ्ले नगरसभाको सो निर्णय तत्काल प्रमाणीकरण नगर्ने अडानमा छन् ।
वडा समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद २ को दफा १, २ र ३ बमोजिम नयाँ स्थानीय तहका लागि आवश्यक मार्ग प्रदान गरेको र नेपालको संविधान २०७२ को धारा २९५ उपधारा ३ र धारा ५६ को उपधारा ४ र ५ बमोजिम वडाको भौगोलिक तथा प्रशासनिक क्षेत्रलाई छुट्टै पालिका बनाउने निर्णय गरेको थियो ।
पूर्वमा हिले खोला, पश्चिममा धनसार खोला, उत्तरमा रौतहटको चुरे पानी ढलो र दक्षिणतर्फ चाँदी नदी र डुम्रे खोलाको दोभानदेखि पश्चिमतर्फ जनचाहना सामुदायिक वनको सिमाना हुँदै लमहाखोला उत्तर हाइटेन्सन लाइन सिमाना भएर धन्सार खोलासम्मलाई बेग्लै गाउँपालिका बनाउने वडा समितिको निर्णय गरेको थियो ।
सो सीमाभित्रका क्षेत्रलाई पाँच वटा वडा निर्धारण गरी ‘गैंडाटार गाउँपालिका’ प्रस्ताव गर्न आवश्यक प्रक्रियाको थालनीको लागि चन्द्रपुर नगर कार्यपालिकाको १२ औं नगरसभाबाट निर्णयसहित माथिल्लो निकायमा आवश्यक पत्राचार गर्न वडाले नगरसभा समक्ष प्रस्ताव गरेको थियो ।
वडा समितिको यो प्रस्ताव नगरसभाले पास गरेसँगै नयाँ गाउँपालिका स्थापनाको प्रक्रिया अघि बढ्ने अवस्था बनेको थियो । यसअघि अछामको साँफेबगर नगरपालिकाको २० माघमा बसेको नगरसभा बैठकले १४ वटा वडामध्ये ६ वटालाई अलग गरेर छुट्टै स्थानीय तह बनाउने निर्णय गरेको थियो ।





