काठमाडौं । मुगा माला, टल्कने पत्थर लगायत बहुमुल्य वस्तु ठगी गरेको आरोपमा गोरखाका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका ३ नारेश्वरका २३ वर्षीय अश्विन दानी र भीमसेन थापा गाउँपालिका ८ का २५ वर्षीय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दानी गोरखाको पत्रकारिता क्षेत्रमा रहेर केहि समय काम गरेका थिए । उनीहरूसँगै कपिलवस्तुका २७ वर्षीय इमानसिंह सुनारलाई पनि पक्राउ गरिएको कार्यालयका निमित्त प्रमुख डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार गत ३० फागुनमा मुगा माला र टल्कने पत्थर किन्न भन्दै उनीहरू नुवाकोटको विदुर नगरपालिका ७ महादेवखर्कस्थित चन्द्रबहादुर तामाङको घरमा पुगेका थिए ।
तामाङले प्रहरीमा खबर गरेपछि प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारेको थियो । फोन ट्रयाकको आधारमा काठमाडौंको वालुवाटारस्थित उनीहरूकै कोठाबाट तीनै जनालाई पक्राउ गरिएको डीएसपी खड्काले बताए । ठगी गरेको सामानसहित उनीहरूलाई पक्राउ गरिएको डीएसपी खड्काले बताए ।
उनीहरूको साथबाट ठगी गरेको मुगा माला चार थान, सि माला दुई थान, आर माला र टल्कने पत्थर नौ थान समेत बरामद भएको छ । उनीहरू विरुद्ध ठगी मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।




