काठमाडौं । सिम्रिक एयर लिमिटेडले नेपालमै पहिलो पटक हेलिकप्टर नेपाल म्यागेजिन ल्याएको छ । हेलिकप्टर उद्यममा पारदर्शिता, प्रभाव र प्रतिवद्धतालाई प्रतिविम्वित गर्न उद्देश्यले म्यागेजिन ल्याएको हो ।
हेलिकप्टर सम्बन्धी विभिन्न आयामहरू सम्मिलित पहिलो र एक मात्र म्यागेजिनका रुपमा हेलिकप्टर नेपालको पहिलो अंक शुक्रबार सार्वजनिक गरिएको छ । जसमा हेलिकप्टर सञ्चालनका क्रममा हालसम्म गरिएको उपलब्धि, प्रयासहरू र आगामी दिनका सम्भावना र चुनौतीहरू समेटिएको छ ।
उक्त कार्यक्रममा बोल्दै सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको सडक तथा विमानस्थल दुवैका पूर्वाधार र देशको भूबनोटको कारणले हेलिकप्टर नै अति महत्त्वपूर्ण साधन भएको बताए । उनले ताप्लेजुङको पाथीभरादेखि उपत्यकाको शिवपुरी क्षेत्रमा आगलागी नियन्त्रणमा हेली सेवा प्रभावकारी भएको भन्दै यसको महत्त्व झनै बढ्दै गरेको बताए ।
यस्तै अध्यक्ष थापाले नेपाल सरकारले नीतिगत व्यवस्था गर्ने हो भने वार्षिक ५ सय रुपैयाँमा देशैभरबाट स्वास्थ्य आपत्कालिन उद्धार गर्न सकिने बताए । कार्यक्रममा बोल्दै थापाले भने- ‘राज्यले नीतिगत व्यवस्था गरे हामी ५ सय रुपैयाँ प्रिमियमको बीमामा देशैभरबाट मेडिकल रेस्क्यू गर्न सक्षम छौं तर राज्यले यस क्षेत्रमा ध्यान दिएन ।’
यस्तै कार्यक्रममा बोल्दै सिम्रिक एयरले प्रकाशन गरेको म्यागाजिन गैर व्यवसायिक भएको महाप्रबन्धक मुरलीधर जोशीले बताए । सिम्रिक एयरको २३ वर्षगाँठ पुगेको अवसरमा म्यागाजिन निकालिएको भन्दै जोशीले अहिले वार्षिक रूपमा प्रकाशन हुने म्यागाजिन आगामी दिनहरूमा क्रमश: अर्धवार्षिक र त्रैमासिक गर्ने योजना रहेको बताए ।






