काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुपको लगानी रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले आयकर नतिरेको भेटिएको छ । ठूला करदाता कार्यालयले सोमबार सूची सार्वजनिक गरेको हो ।
कर तिर्न अटेर गर्नेमा सरकारी स्वामित्वको कृषि सामाग्री केन्द्रदेखि उदयपुर सिमेन्ट, जनक शिक्षा सामाग्रीसम्म रहेका छन् । यस्तै कर दाखिला नगर्नेमा विजय राजभण्डारी अध्यक्ष रहेको सिइ कन्स्ट्रक्सनसमेत रहेको छ ।
यस्तै प्रतापजंग पाण्डेको लगानी रहेको कसमस सिमेन्टले कर दखिला नगरेको भन्दै १५ दिनभित्र कर दाखिला गर्न ठूला करदाता कार्यालयले सूचनामा भनेको छ । यस्तै आनन्दराज बतासको बतास आर्दश प्रालि, सुमेरु बचत, गण्डकी विकास बैंकसम्मले कर दाखिला गरेका छैनन ।
कर दाखिला गर्न विभिन्न मितिमा अनुरोध गरिएपनि दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो । कार्यालयका अनुसार केहि करदाताले पूरा कर दाखिला नगरेको र केहिले भने दाखिला नै नगरेको देखिएको छ ।
सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्नुहुन वा दाखिला गरिसकेको भए सोको प्रमाण पेश गर्नुहुन अनुरोध छ ।’
तोकिएको अवधिभित्र कर दाखिला नगरेमा आयकर ऐनअनुसार कारबाही हुने कार्यालयको सूचनामा उल्लेख छ ।




