काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १७ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा महका परिकार, प्राकृतिक रेशाजन्य उत्पादन, स्थानीयका खाना परिकार तथा मौलिक उत्पादनहरुमा अवलोकनकर्ता तथा उपभोक्ताहरुको आकर्षण देखिएको छ ।
स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख २६ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी रहेको छ ।
प्रदर्शनीमा महका परिकार, अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, मह र यसका प्रकार, माहुरी सम्बन्धी जानकारी, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन उपभोक्ताहरुले निकै मन पराएको पाइएको छ ।
काठ÷ढुङ्गा÷धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामानहरु, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु, नवीनतम प्रविधिहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक संघसंस्थाहरु, वैकल्पिक÷नविकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु र अन्य औद्योगिक वस्तुहरु प्रदर्शन गरिएको छ ।
यसैगरी तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादन लगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिएको छ ।
लघु, घरेलु, साना तथा महिला उद्यमीद्धारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७ औं श्रृंखला “नेपाल १७ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१” आइतबारसम्म चल्नेछ ।
मुलुकभरका झण्डै ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा “खोजौं नेपाली, रोजौं नेपाली” र “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” भन्ने रहेको छ ।
नेपाल मौरी पालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यवसायिक किट विकास केन्द्रसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिएको छ ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहेको छ ।
प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था रहेको छ भने २ लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । यस्तै ७ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा रहेको मेलाको सह–आयोजकको रुपमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, नेपाल मौरी पालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यवसायिक किट विकास निर्देशनालय छन् ।
यस्तै प्रवद्र्धकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका रहेका छन् । यस मेलाको अफिसियल बैंक कृषि विकास बैंक रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरिएको यस मेलाको व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड सोजले गरेको छ ।
महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणको रुपमा रहेको बताउनुभयो ।
नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ कै दौरानमा बिहीबार लघु लघु घरेलु घरेलु तथा साना उद्योग तथा महिला उद्यमशीलताः वित्तिय पहुँच विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
यस्तै शुक्रबार महिला उद्यमशिलता विकासमा महिला उद्यमीहरूको वर्तमान अवस्था चुनौती र अवसर तथा नविकरणीय ऊर्जा र यसको उत्पादनशील प्रयोग विषयक कार्यशाला गोष्ठी पनि आयोजना गरिएको थियो ।




