काठमाडौं । नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरिएको छ ।
जिल्ला अदालत धनुषा, जनकपुरधामका न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले शुक्रबार अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता रन्जन अवाले जानकारी दिए ।
नागरिकता सम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरेको थियो । लगत्तै उनलाई जनकपुर लगेको थियो । बुधबार अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । शुक्रबार म्याद थपका लागि अदालतमा पेस गर्नुअघि सरकारी वकिलको कार्यालयमा झण्डै तीन घण्टा बयान लिएको थियो ।




