काठमाडौं । खराब ऋणीहरूलाई ऋण तिर्न बाध्य बनाउने धेरै तरिकाहरू छन् । जसमा कालोसूचीमा राख्नेदेखि ऋण असुली न्यायाधिकरण मार्फत कारबाही अगाडी बढाउनेसम्मका कार्य गर्न सकिन्छ, जुन बैंकहरुले गर्दै आएकै छन् ।
तर, विगतमा आँखा चिम्लेर जथाभावी लगानी गर्ने, बैंक सञ्चालक र कर्मचारीहरूको मिलेमतोमा जोखिमपूर्ण लगानी गर्दै आएको एनआईसी एशिया बैंकले अर्को अनौठो हर्कत गरेको छ । बैंकले ऋणीबाट ऋण असुल्न कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्राचार गरेको तथ्य फेला परेको छ ।
ऋण असुली न्यायाधिकरणमा पनि ऋण असुल्न मुद्दा हाल्नेको पहिलो नम्बरमा रहेको एनआईसी एशिया बैंकले कम्पनी रजिस्ट्रार कार्यालयलाई लगभग सय वटा पत्र पठाएको छ ।
आफूखुसी खराब लगानी गर्ने र अहिले खराब कर्जाको मात्रा अत्यधिक देखिएपछि बैंकको व्यवस्थापन पक्ष ‘रन्थनिए’को छ । कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्र नै लेखेको विषयलाई धेरै विश्लेषकहरूले बैंक व्यवस्थापन पक्षको विवेक नै कमजोर बनेको तर्क गरेका छन् ।
हुन पनि बैंकमा लिएको कर्जा नतिर्ने कम्पनीको अद्यावधिक नै नगर्ने भन्ने कुरा कम्पनी रजिस्ट्रार कार्यालयले कल्पना नै गर्न सक्दैन । त्यस्ता कम्पनीहरूको शेयर हस्तान्तरण रोक्नु पर्ने कुनै आवश्यकता कार्यालयले देख्ने कुरा पनि भएन । तर, ती सबै माग बैंकले राखेको छ ।




