काठमाडौं । श्री केश हेयर ओयलले विभिन्न डिजिटल मिडिया एवम् सामाजिक सञ्जालहरूमा आएका गुनासोहरूको स्पष्टिकरण दिएको छ । सोमबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा पत्रकार सम्मेलन गर्दै सप्तऋषि ओइल एण्ड कस्मेटिक प्रा.ली.का म्यानेजिङ डाइरेक्टर टिकाराम बुढाथोकीले यस बारे स्पष्टीकरण दिएका हुन् ।
उनले विभिन्न डिजिटल मिडिया एवम् सामाजिक सञ्जालमा श्री केश हेयर ओयलको उत्पादन, भण्डारण र गुणस्तरको बारेमा गुनासोहरू आएको भन्दै श्री केश तेल लगाएर कसैको पनि कपाल नझर्ने बताए । उनले श्री केश तेलको प्रयोगले सय प्रतिशत नै कपाल झर्न नरोक्ने तर तेलले कपाल उमार्न सहयोग गर्ने बताए ।
उनले श्री केशमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडिबुटिहरू कपालको सुरक्षा, पोषण र उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको पनि बताए । यस उत्पादनले ट्रेडमार्क समेत प्राप्त गरिसकेको उनले जानकारी दिए ।
त्यस अवसरमा बुढाथोकीले नेपालमा धेरै जडीबुटीको सम्भावना देखेर श्रीकेश तेलमा लगानी गरिएको बताए । उनले श्रीकेश हेयर ओइल नेपाल सरकारको नीति र नियममा रहेर सम्बन्धित निकायबाट उत्पादन अनुमति प्राप्त कम्पनी भएको जानकारी दिए ।




