काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल आज बिहीबार प्रकाशित हुने भएको छ । लेटर ग्रेडिङ लागू भएको ९ वर्षपछि एसईई परीक्षा दिएका विद्यार्थीले पहिलो पटक अघोषित पासफेल उल्लेख भएको लब्धाङ्कपत्र पाउँदै छन् ।
२०७२ सालयता विद्यार्थी ग्रेडअनुसारको कक्षा ११ मा विज्ञानदेखि प्राविधिक तहसम्मको विषय पढ्न पाउने व्यवस्था थियो । यो वर्ष एनजी अर्थात् (ननइलिजिबल) उल्लेख भएको लब्धाङ्कपत्र पाउनेछन् ।
परीक्षामा उत्तीर्ण हुने विद्यार्थीले यस वर्षको नतिजामा सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ ।
एनजी उल्लेख भएका विद्यार्थी अनुत्तीर्णसरह हुन् । उनीहरूले पुनः उत्तीर्ण भएपछि मात्र माथिल्लो कक्षामा पढ्न पाउने व्यवस्था छ । सरकारले लेटर ग्रेडिङ २०७८ लागू गराएपछि पहिलोपटक यस्तो व्यवस्था हुन लागेको हो ।
नतिजा कसरी हेर्ने ?
एसईईको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट थाहा पाउन सकिन्छ । नतिजा सार्वजनिक भएपछि मोबाइलको एसएमएसमा SEE लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा पठाएर नतिजा थाहा पाउन सकिन्छ ।
यस्तै आईभीआरको माध्यमबाट पनि नतिजा हेर्न सकिन्छ । १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा सुन्न सकिन्छ । राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट result.see.gov.np/result मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ ।
यस्तै नेपाल टेलिकमको वेबसाईट www.see.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ ।




