काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रवेश परीक्षा कक्षा १२ को परीक्षाफल प्रकाशित हुनुअघि सञ्चालन गर्ने भएको छ । त्रिविले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेन्डर जारी गर्दै कक्षा १२ को परीक्षाफलको प्रतिक्षामा रहेका विद्यार्थीलाई प्रवेश परीक्षामा सामेल गराउने निर्णय गरेको हो ।
त्रिविले कक्षा १२ को परीक्षामा अनुत्तीर्ण भएमा भर्ना भएको रकम फिर्ता गरेर प्रवेश परीक्षा रद्द गर्ने गरी तयारी गरेको छ । त्रिविको एकेडेमिक काउन्सिलको बैठकले क्यालेन्डर कार्यान्वयन गर्ने निर्णय गरेपछि त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठक बसेको थियो । स्थायी समितिको १९६ औं बैठकले क्यालेन्डर लागू गर्न सबै निकायलाई पत्राचार पनि गरिसकेको छ ।
त्रिवि रेक्टर कार्यालयले अध्ययन संस्थान, संकाय, आंगिक क्याम्पस, केन्द्रीय विभाग र विभिन्न विभागलाई शुक्रबार पत्राचार गरेको हो । त्रिविको परीक्षालाई व्यवस्थित रूपमा सञ्चालन गर्न अब ९० दिनमा परीक्षा र ९० दिनभित्रै परीक्षाफल प्रकाशित हुने गरी क्यालेन्डर तयार गरिएको जनाइएको छ ।
त्रिविले क्यालेन्डर कार्यान्वयनको अवस्था बारे नियमित अनुगमन गर्न प्रदेश परीक्षा कार्यालयलाई जिम्मा दिइएको छ । स्नातक तह सेमेस्टर प्रणाली अन्तर्गत पहिलो सेमेस्टरका लागि साउनको दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म आवेदन आह्वान हुनेछ ।
त्यस्तै, भदौको तेस्रो हप्ता प्रवेश परीक्षा हुनेछ भने असोजदेखि कात्तिकको बीचमा विद्यार्थी भर्ना गरिनेछ । शैक्षिक क्यालेन्डर अनुसार मङ्सिरको पहिलो हप्तादेखि कक्षा सञ्चालन हुनेछ । त्यसैगरी माघको चौथो हप्तादेखि परीक्षा सञ्चालन गर्ने र २०८२ वैशाख चौथो हप्तामा पहिलो सेमिस्टरको नतिजा प्रकाशित गर्ने गरी शैक्षिक क्यालेन्डर तयार गरिएको छ ।
त्यस्तै, वार्षिक प्रणाली अनुसार स्नातक तह प्रथम वर्षका लागि साउन दोस्रो हप्तादेखि भदौ तेस्रो हप्तासम्म भर्ना र भदौको चौथो हप्तादेखि कक्षा सञ्चालन हुनेछ भने चैतको चौथो हप्तामा परीक्षा फारम खुल्नेछ । आगामी वर्ष जेठ पहिलो हप्तामा कक्षा सकिने छ । २०८२ जेठ चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछन् । त्यसको नतिजा प्रकाशन २०८२ असोजको दोस्रो हप्तामा हुनेछ ।
स्नातककोत्तर तहको हकमा पहिलो सेमेस्टरका लागि २०८१ को मङ्सिरमा भर्ना फारम खुल्नेछ । पुसमा प्रवेश परीक्षा तथा भर्ना हुनेछ र माघ १ गतेदेखि कक्षा सञ्चालन हुनेछ । चैतको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछ भने २०८२ सालमा असारको चौथो हप्ताभित्रमा नतिजा प्रकाशित हुनेछ ।
त्रिविका क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले प्रयोगात्मक परीक्षाको अनुगमन गर्नेछन् । परीक्षा सकेलगत्तै एक वा दुई हप्तामात्र सेमेस्टर ब्रेक हुनेछ । त्रिविले प्राविधिक विषयमा इन्जिनियरिङ, कृषि तथा वन, चिकित्सा शिक्षा र विज्ञान तथा प्रविधिलाई पनि व्यवस्थित रूपमा एकैसाथ परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएको छ । अन्तिम परीक्षा सकेको दुई साताभित्र प्रयोगात्मक परीक्षा सञ्चालन हुनेछ ।
हरेक दुई वर्षपछि हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०८३ सालको फागुन १४ गते गर्ने गरी निर्णय भएको छ । क्यालेन्डर जारी भएसँगै अब हरेक वर्ष पुस पहिलो हप्ताबाट सबै क्याम्पसमा खेलकुद सप्ताह हुनेछ । यस्तै त्रिविले जाडो र गर्मी बिदा कटौती गर्नुका साथै नियमित बिदा बाहेक अन्य बिदा कटौती गरेको छ ।




