काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा भ्रष्टाचार सम्बन्धी २०१ वटा मुद्दा दायर गरेको जनाएको छ । जसमा गैरकानुनी लाभहानीका ५८, घुसका ४८, नक्कली शैक्षिक प्रमाणपत्र ३४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी ३४ वटा मुद्दा रहेका छन् ।
त्यसैगरी राजश्व हिनामिना १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध ३ वटा मुद्दा रहेका छन् । अख्तियारले बुधबार जारी गरेको विज्ञप्ति अनुसार विशेष अदालतमा दायर २०१ मुद्दाका प्रतिवादीबाट ८ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रूपैयाँ ४६ पैसा बिगो माग दाबी गरिएको छ ।
आरोप पत्रमा प्रतिवादीको संख्या १ हजार ५२० जना रहेका छन् । जसमध्ये सरकारी कर्मचारी ५२४, निर्वाचित जनप्रतिनिधि १०१, मनोनीत पदाधिकारी १८१, लेखापढी व्यवसायी २, बिचौलिया २ र व्यवसायी ९१ जना रहेका छन् । त्यसबाहेक अन्य ६१९ जना छन् ।
आयोगका अनुसार सोही आर्थिक वर्षमा परेका जम्मा ३५ हजार ७९० उजुरीमध्ये २७ हजार ३७५ उजुरी फछ्र्योट गरेको जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा अख्तियारले दायर गरेका मुद्दामा गैरकानुनी लाभहानी ५८ घुस (रिसवत) ४८, नक्कली शैक्षिक प्रमाण-पत्र ३४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी ३४, राजस्व चुहावट – हिनामिना १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध ३ वटा गरी २०१ वटा रहेका छन ।
उक्त आ.व. २०८०/८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त २६ हजार ५२२ तथा अघिल्लो आर्थिक वर्ष २०७९/८० बाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ गरी कुल ३५ हजार ७९० उजुरीहरू रहेकोमा २७ हजार ३५७ उजुरी फछ्यौट गरिएका छन्, जुन कुल उजुरी संख्याको करिब ७६.४९ प्रतिशत हुन आउँछ । जसमा रंगेहात कारबाहीको संख्या- ३१ रहँदा ५२ लाख ४२ हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ ।
रंगेहात कारबाहीमा ४४ जना पक्राउ परेका व्यक्तिमध्ये कुल राष्ट्रसेवक कर्मचारी ३२ रहेका छन् । त्यसैगरी, ९ जना लेखापढी व्यबसायी/बिचौलिया मतियार र ३ जना वडाध्यक्ष परेका छन् । विशेष अदालतबाट भएका फैसलाहरूमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको संख्या ९२ रहेको अख्तियारको तथ्यांकमा उल्लेख छ ।




