काठमाडौं । आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तीन दिन विशेष गरी रात्रिको समयमा धेरै वर्षा हुने भएकाले बाढी पहिरोजस्ता मनसुनजन्य घटना बढ्न सक्नेतर्फ सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार अहिले पनि कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । मंगलबार राति भने देशभर साधारणतया बदली रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै बुधबार देशभर साधारणतया बदली रहनेछ । सो दिन दिउँसोको समयमा मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
बुधबार राति देशभर साधारणतया बदली रहने र मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आग्रह गरिएको छ ।
साथै ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।




