काठमाडौं । आफ्नै छोरीको उत्तरपुस्तिका सच्याउने काम गरेर विवादमा तानिएका लोकसेवा आयोगका तत्कालीन अधिकृत मिमबहादुर शाही विशेष अदालतबाट भ्रष्टचारी ठहर भएका छन् । शाहीले नेपाल वायुसेवा निगम (खुला, समावेशी) सहायक चौथो (खरिदार) पदका लागि लोकसेवाले लिएको लिखित परीक्षामा सहभागी आफ्नी छोरीको उत्तरपुस्तिका सच्याएर उत्तीर्ण गराउन खोज्नेसँगै उनी विरुद्ध विशेष अदालतमा मुद्धा चलेको थियो । उनलाई अदालतले दोषी ठहर गरेको हो ।
शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्धामा विशेषले उनलाई दोषी ठहर गर्दे ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना गराएको छ । ०७६ साल जेठ ११ गते वायुसेवा निगमको सहायक चौथो तहको परीक्षा हुँदा शाखा अधिकृत शाही आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखा अन्तर्गत लिखित नतिजा तयारी शाखामा कार्यरत थिए ।
निगमले विज्ञापन ०७५/७६ मा विज्ञापन आह्वान गरेको थियो । छोरीले वस्तुगत परीक्षाको उत्तरपुस्तिकामा सबै प्रश्नको उत्तर अंग्रेजी ‘सी’ लेखेको, तर पछि बुबाले सबै ५० वटा वस्तुगत प्रश्नको उत्तर मिलाएको लोकसेवाको छानबिनबाटै पुष्टि भएपछि अख्तियारले कारवाही अगाडि बढाएको थियो ।
‘उत्तरपुस्तिका सच्याएको पुष्टि हुन आएको’ भन्दै अख्तियारले सरकारी कागजात सच्याइ अनियमिमता गरेको अभियोगमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ अनुसार मुद्दा चलाएको हो । यो घटनाताका आयोगमा आनन्दराज ढकाल सचिव थिए । नतिजा प्रकाशनको निर्णय सचिवसमक्ष पुगेपछि प्राप्तांक रुजु गर्न र उत्तरपुस्तिका फेरि जाँच गर्न निर्देशन भयो । र, वस्तुगत प्रश्नको ५० वटै उत्तरमा अंग्रेजी ‘सी’ लेखिएकामा पछि थपेर ए, बी र डी बनाइएको पाइएपछि अख्तियारले उनीविरुद्ध विशेषमा मुद्धा चलाएको थियो ।




