काठमाडौं । जल तथा मौसम पूर्वानुमान माहाशाखाले आगामी तीन दिनसम्म विशेष गरी रातको समयमा मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । तर, केहि दिनयता भएको भारी वर्षाले बाढी तथा डुबानजस्ता समस्या ल्याएपनि आजदेखि सुधारात्मक बन्दै जाने महाशाखाको भनाइ छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले आजदेखि नै शुक्रबार रातिसम्म नै रातको समयमा वर्षा हुने र मौसम सुधारात्मक बन्दै जाने बताए । महाशाखाका अनुसार आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली साथै बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।
सुदूरपश्चिम प्रदेशको स्थान साथै कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन एवम् चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ । बिहिबार दिउँसोमा भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । महाशाखाका अनुसार रातिमा भने देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ । शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । शुक्रबार राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ । आगामी २४ घण्टामा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।




