काठमाडौं । साउनको अन्तिम सोमबार भएकाले आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको लामो लाइन छ ।
साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन मिलाइएको छ ।
आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।




