काठमाडौं । ग्रीनकार्डको प्रलोभन देखाएर मोरिसस पुर्याई महिला बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका १ का ५४ वर्षीय बुद्धिराज न्यौपाने रहेका छन् । उनलाई मानव बेचबिखन ब्युरोको टोलीले सोमबार काठमाडौं महानगरपालिका ७ गौरीघाटबाट पक्राउ गरेको हो ।
ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार न्यौपानेले एक महिलालाई २०८० माघ १३ गते नेपालबाट नयाँ दिल्ली हुँदै मोरीसस पुर्याएका थिए । त्यहाँ मासिक ७० हजार नेपाली रुपैयाँ कमाई हुने भनी न्यौपानेले महिलाबाट लागत खर्च भनी २ लाख ५० हजार रुपैयाँ लिएका थिए ।
कुकको काममा लगाइदिने र केही समयपछि ग्रीनकार्ड पाइने भनेपछि महिलाले न्यौपानेलाई रकम दिएकी थिइन् । मिश्रका अनुसार न्यौपानेले त्रिभुवन विमानस्थलबाटै दिल्ली उडाएका थिए । विमानस्थलमा न्यौपानेले महिलालाई ‘मोरिसस’ लेखिएको क्याप लगाउन दिएर फोटो खिचेका थिए ।
न्यौपानेका साथीले मौरीससको विमानस्थलमा महिलालाई रिसिभ गरेर उतैका नागरिकलाई जिम्मा दिए । ती नागरिकले बुद्धिराज न्यौपानेबाट ‘उपहारस्वरुप खरिद गरी ल्याएको’ भन्दै महिलालाई दैनिक १७/१८ घन्टा घरायसी काममा लगाउन थाले ।
‘महिलालाई खाना खान र तलब समेत नदिएर चरम श्रम र यौनशोषण गरेको खुल्न आएको छ,’ मिश्रले भने । मौरीससका नागरिकसँग महिलाले नेपाल फर्काइदिन अनुरोध गरिन् । तर, उनले डर-धम्की दिएर राखिरहे ।
ती महिला काम गरेको ठाउँबाट राति भागेर पोर्चुगलमा रहेका नेपालीहरूको सहयोगमा २०८१ असार २० गते नेपाल आइपुगेकी थिइन् । महिलाले नेपाल आएर जाहेरी दिएपछि प्रहरी न्यौपानेको खोजीमा थियो ।
पक्राउ परेका न्यौपानेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक मिश्रले बताए ।




