काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । विशेष अदालतले बुधबार उनीहरुलाई सजाय समेत सुनाएको छ ।
चंखेलीको वडा नं. ३ को फिल्ड निर्माण योजनामा अनियमितता भएको भेटिएको थियो । यसमा प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इञ्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सबइञ्जिनियर हर्कधन बुढालाई प्रतिवादी बनाइएको थियो ।
उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी र कोषाध्यक्ष डल्ली बुढाविरुद्ध मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० फागुन ०८० मा मुद्दा दायर गर्दा यसमा वडा नं. ३ का अध्यक्ष शालिग्राम ऐडीसमेत प्रतिवादी कायम गरिएका थिए ।
आर्थिक वर्ष ०७४/७५ मा फिल्ड निर्माण कार्यको क्रममा भएकोभन्दा बढी मूल्यांकन गरी नापी किताबमा चढाइ हस्ताक्षर गरी भुक्तानी गरिएको भेटिएको थियो । यस क्रममा ११ लाख ९४ हजार रुपैयाँ अनियमितता भएको थियो ।
यसमा प्रतिवादी बनाइएका सबैलाई जनही ३/३ महिना कैद सजाय तथा जनही १ लाख ७० हजार रुपैयाँभन्दा बढी जरिवाना हुने भएको छ । भ्रष्टाचार गरेको रकम समेत उनीहरुबाट असुल गर्न विशेषले भनेको छ । न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो ।




