काठमाडौं । भोलि जनै पूर्णिमा अर्थात रक्षा बन्धन पर्व । भाद्र ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडि १९ पला रहेको छ । घण्टा मिनेट अनुसार त्यस दिन दिउसो १:३१ बजेसम्म भद्रा परेकाले भद्राको समयमा रक्षाबन्धन यज्ञोपवीत धारण गर्न हुने वा नहुने सम्बन्धमा सर्वसाधारणको चासो उत्तिकै रहेको छ ।
यसैबीच धर्म संस्कृति जानकारहरुले भने राष्ट्र प्रमुख बाहेकका व्यक्तिहरू भद्राको समयमा रक्षाबन्धन यज्ञोपवीतका गर्न रोकिन नपर्ने बताएका छन् । नेपाल संस्कृत विश्व विद्यालयका प्राध्यापक डाक्टर बासुदेव खनाल श्रावणशुक्ल पूर्णिमाका दिन ब्रहमुहूर्तमा गरिने श्रवणीस्नानको विशेष महत्व रहेकाले यो दिन स्नान, उपाकर्म नूतन यज्ञोपवीत, ऋषितर्पणी एवम् रक्षाबन्धन जस्ता कर्म गर्न भद्राको कारण रोकिन नपर्ने बताउनु हुन्छ ।
यता नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले राष्ट्र प्रमुख एवम् विशिष्ट व्यक्तिहरूका लागि भने गणस्नान आदि उपाकर्मका समस्त कर्म र रक्षाबन्धनको पूजादि गर्न हुने तर रक्षा सूत्रमात्र बाँध्न नहुने भन्दै भद्रापछि बाँध्नु उचित हुने बताएको छ । समितिले विज्ञप्तिमा उल्लेख गरेको शास्त्रीयबचन कुन वेद, उपवेद वा पुरणामा उल्लेखित हो ? भन्ने विषय भने स्रोत खुलाएको छैन ।





