काठमाडौं । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्वसञ्चालक सचिव अनुज नकर्मी पक्राउ परेका छन् । सहकारी ठगीको मुद्दामा फरार रहेका उनलाई काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेर पोखरा लगिएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका १४ श्रीपुर घर भई हाल पोखरा घारीपाटन बस्ने ४८ वर्षीय नकर्मीलाई आज कास्की जिल्ला अदालतमा हाजिर गराइएको र उनलाई आजै कारागार चलान गरिएको कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
सहकारी पीडितको उजुरीको आधारमा सहकारीको रकम हिनामिना गर्ने १९ जनालाई प्रतिवादी बनाएर गत वर्ष नै सहकारी ठगीको मुद्दा दर्ता भइसकेको छ । उनीहरुविरुद्ध १ अर्ब ३५ करोड रुपैयाँ बराबरको बिगो दावी गरिएको छ ।
प्रतिवादीमध्ये ५ जना पुर्पक्षका लागि थुनामा रहेका छन् । अहिले पक्राउ परेका नकर्मी छैटौँ प्रतिवादी हुन् । जीबी राईसहित अन्य १३ जना आरोपी फरार रहेका छन् ।




