काठमाडौं । विशेष अदालतले ३० हजार घुस लिएको आरोपमा कपिलवस्तु, तौलिहवाको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा नरहरी खनाललाई भ्रष्टाचारी ठहर गर्दै एक महिना कैद सजाय सुनाएको छ ।
खनाललाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत २४ वैशाखमा पक्राउ गरेको थियो । यसअघि विशेष अदालतले ३० हजार घुस लिने आन्तरिक राजश्व कार्यालय महाराजगञ्जकी कम्प्युटर अधिकृत बिन्दु प्रधानलाई पनि दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ ।
यस्तै, केहि अघिमात्रै २५ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ परेकी चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव इञ्जिनियर विजया लक्ष्मी पन्तलाई पनि विशेष अदालतले दोषी ठहर गरेको छ । उनलाई तीन महिना कैद र २५ हजार जरिवानाको सजाय सुनाएको छ ।
यद्यपि, विशेष अदालतले साना घुस काण्डमा छिटो फैसला गर्दै दोषी ठहर गरेपनि अर्बौंको भ्रष्टाचार मुद्दामा सफाई दिने निर्णयहरु विवादास्पद बनेका छन् । अदालतले ठूला भ्रष्टाचार काण्डमा सफाई दिँदै आएकोमा थोरै रकमको घुस लिएका कर्मचारीहरुलाई दोषी ठहर गर्दै कैद सजाय दिने गरेको छ ।




