काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । योसँगै अर्याल २७ औं मुख्यसचिव बनेका छन् । २०७७ भदौमा सचिवमा बढुवा भएका अर्यालले गृह मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुअघि प्रधानमन्त्री कार्यालय, श्रम र सामान्य प्रशासन मन्त्रालयको सचिवको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
को हुन् अर्याल ?
सरकारले गृहसचिव एकनारायण अर्याललाई नयाँ मुख्यसचिवका रूपमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले अर्याललाई नियुक्त गरेको हो । २०४६ साल माघ ४ गते निजामती सेवामा नासूको रूपमा प्रवेश गरेका अर्याल ३५ वर्षपछि मुख्यसचिवको पदमा नियुक्त भएका हुन् ।
अर्यालले २०५१ साल फागुन ४ गते शाखा अधिकृतको पदमा बढुवा पाएका थिए, त्यसपछि २०५८ साल माघ ६ गते उपसचिव बनेका थिए । नौ वर्षपछि, २०६७ साल फागुन १९ गते उनी सहसचिवको रूपमा अगाडि बढे । सहसचिव भएको नौं वर्षपछि २०७६ साल फागुन १८ गते उनी सचिवमा बढुवा भए । पाँच वर्ष सचिव पदमा रहेर काम गरेपछि उनी अहिले मुख्यसचिवको रूपमा नियुक्त भएका हुन् ।
उनको करियरमा विभिन्न महत्वपूर्ण भूमिकाहरू रहेका छन् । उनले काठमाडौं, तनहुँ, र मकवानपुर जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भएर काम गरेका थिए, जहाँ उनी मकवानपुरको उत्कृष्ट प्रजिअ घोषित भएका थिए । २०७२ सालको विनाशकारी भूकम्पका बेला अर्याल गोरखाको प्रमुख जिल्ला अधिकारी थिए, र त्यतिबेला गरेको उत्कृष्ट कामका लागि उनले निजामती सेवा पुरस्कार प्राप्त गरेका थिए ।
उनले गृह मन्त्रालयमा सहसचिवको रूपमा गृह प्रशासन सुधारमा योगदान गरेका थिए, जसको आधारमा उनलाई सचिव पदमा बढुवा भएपछि गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो । उनले केही समय भारतमा महावाणिज्यदूतको रूपमा पनि सेवा गरे, जहाँ उनले कार्गोको विद्युतीय ट्र्याकिङ प्रणालीको विकास गरेका थिए ।
अर्यालले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, सामान्य प्रशासन मन्त्रालयको सचिव, श्रम तथा रोजगार मन्त्रालय, प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा सचिवका रूपमा काम गरेका छन् । गृहसचिवको रूपमा २०८० फागुन ३० गते सरुवा भएका अर्याल १७१ दिनपछि मुख्यसचिवमा नियुक्त भएका हुन् ।




