काठमाडौं । चितवनकी माया तामाङ (नाम परिवर्तन) को जीवन निकै संघर्षपूर्ण थियो । श्रीमान्ले दिनभर ज्याला मजदुरी गरेर थोरै पैसा कमाउँथे, तर साँझ पर्नासाथ कमाएको पैसाले रक्सी सेवन गर्थे र घरमा सधैं झगडा मच्चाउँथे । मायालाई आफ्ना चार सन्तानको पालनपोषण गर्न कठिनाइ भइरहेको थियो ।
दिनभरि छोराछोरीलाई पेटभरि खाना खुवाउने चिन्ताले सताइरहन्थ्यो । एकदिन अचानक मायाको मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो । उनले को होला भनेर फोन उठाईन् । केही समयपछि फोन गर्ने व्यक्तिले फेसबुकमा साथी बन्न अनुरोध पठायो ।
मायाले त्यो अनुरोध स्वीकार गरिन् र उनीहरूबीच फेसबुकमा कुराकानी हुन थाल्यो । केही समय कुराकानी गरेपछि, उसले मायालाई पैसा नलाग्ने गरी विदेशमा राम्रो काम दिलाइदिने प्रलोभन देखायो । माया भन्छिन्, “घरमा पनि लाउन खानको समस्या छ, सन्तानलाई पनि कति दिन भोकै राख्ने ? त्यसैले विदेश जाने निर्णय गरेँ ।”
त्यो व्यक्तिले मायालाई भारत हुँदै मध्य पूर्वी देशमा पठाइदिने वाचा गरेको थियो । तर भारत पुगेपछि, मायालाई एक वेश्यालयमा बेचिएको थाहा भयो । एक वर्षपछि आफन्तको सहयोगमा माया नेपाल फर्किन सफल भइन् । यसरी प्रलोभनमा परेर बेचिएकी माया मात्रै एक उदाहरण हुन् ।
सूचना, सञ्चार, र प्रविधिको तीव्र विकासले मानव बेचबिखनको अवस्था झनै गम्भीर बनाएको छ । पहिले गाउँका सोझा महिलाहरू मात्रै बेचिन्थे भने अहिले सहरका शिक्षित महिलासमेत यस जोखिममा परिरहेका छन् । नेपाल प्रहरीले हालसालै सार्वजनिक गरेको तथ्यांकले पनि पछिल्लो पाँच वर्षमा सहरका शिक्षित महिलाहरू बेचबिखनको शिकार भइरहेको देखाएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन रोक्न विभिन्न प्रयास गरेपनि सूचना प्रविधिको दुरुपयोगले गर्दा दलालहरूलाई आफ्नो कार्य सजिलो भएको छ । सरकारी तथा गैरसरकारी संस्थाहरूले मानव बेचबिखन रोक्न पहल गरिरहेपनि यसका घटना घट्नुको सट्टा बढिरहेको छ ।
मन्त्रालयको तथ्यांकले देखाउँछ कि बेचबिखनमा पर्ने ८० प्रतिशत भन्दा बढी महिला छन् । पछिल्लो समयमा चिनियाँ र कोरियाली पुरुषहरूले नेपाली युवतीहरूलाई विवाह गर्ने बहानामा बेचबिखन गरिरहेको पाइएको छ, जसको बारेमा माइती नेपालले जनाएको छ ।
नेपालबाट विवाह गरेर लैजाने तर पछि बन्धक बनाएर यातना दिने घटनाहरू पनि बढ्दै गएका छन् । वैदेशिक रोजगारीका लागि विदेश जाने क्रममा पनि श्रम शोषण र यौन शोषण हुने गरेको छ । विभिन्न सामाजिक सञ्जालहरू मार्फत साथी बनाएर विश्वास जित्ने र पछि बेचबिखन गर्ने प्रवृत्ति पनि बढ्दो छ ।
धनुषा र सिरहा जिल्लाका २८ जना पुरुषहरूलाई भारतमा बन्धक बनाइएको थाहा पाएपछि नेपालस्थित भारतीय गैरसरकारी संस्था किन इण्डियाले उद्धार गरी नेपाल फर्काएको थियो । मन्त्रालयले मानव बेचबिखन रोक्न पहल गर्दै आएपनि प्रविधिको दुरुपयोग र सामाजिक सञ्जालको व्यापक प्रयोगले गर्दा जोखिम बढिरहेको छ ।
साथै, विदेशीसँग विवाह गर्ने र वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या बढेसँगै बेचबिखनको खतरा अझ बढेको छ । प्रविधिको विकाससँगै बढिरहेको मानव बेचबिखनलाई रोक्न राज्यले पनि थप सक्रियता देखाउनु पर्ने आवश्यकता छ ।




