काठमाडौं । नेपालमा निजामती प्रशासन किन असफल बन्दैछ भन्ने प्रश्नको उत्तर निजामती सेवा दिवसमा दिइने पुरस्कारबाट पनि प्रष्ट देख्न सकिन्छ । दुर्गम क्षेत्रहरूमा रहेर जनताको सेवा गर्ने र उच्च अधिकारीको चाकडी नगरी इमान्दारीपूर्वक काम गर्ने कर्मचारीहरूको सम्मान हुन नसक्नु यसको एउटा कारण हो । यसको विपरीत, चलखेल गर्नेहरूको प्रभाव र पहुँच बढी देखिन्छ, जुन यस वर्षको निजामती सेवा पुरस्कार छनोट प्रक्रियामा स्पष्ट देखियो ।
यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना पुरस्कृत भएका छन्, जसमा ४ जना सिंहदरबार र काठमाडौंका कार्यालयमा कार्यरत छन् । त्यस्तै, ३० जनालाई दिइने निजामती सेवा पुरस्कार प्राप्तकर्ताहरूमा १५ जना काठमाडौं बाहिर कार्यरत रहेका छन् । मधेश प्रदेशबाट भने एकजना मात्र पुरस्कृत भएका छन्, जसमा जिल्ला निर्वाचन कार्यालय सिराहाका कम्प्युटर अपरेटर गणपैत यादवले सम्मान प्राप्त गरेका छन् ।
उत्कृष्ट पुरस्कार प्राप्त गर्ने कर्मचारीहरूमा सार्वजनिक खरिद अनुगमन कार्यालय केशरमहलका सुपरिटेन्डेन्ट इन्जिनियर रामचन्द्र दंगाल, कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शंकर बहादुर केसी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव राजुप्रसाद गुरागाईँ, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव चुडाराज न्यौपाने, र गृह मन्त्रालयका उपसचिव कृष्ण सापकोटा रहेका छन् ।
यसैगरी, अन्य पुरस्कार प्राप्त गर्नेहरूमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव चिरञ्जीवी नेपाल, नापी कार्यालय संखुवासभाकी उपसचिव आशा राई, कोशी वन्यजन्तु कार्यालय सुनसरीकी बुनु राना, र समशितोष्ण बागबानी विकास केन्द्र मार्फाका कार्यालय सहयोगी नीलबहादुर पुर्जा मगर छन् ।
निजामती सेवा पुरस्कार प्राप्त गर्ने ३० जना कर्मचारीहरूमा मित्र बराल, मोहन राई, शिवप्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ, कफिल अहमद, श्याम कुमार यादव, गंगादत्त भट्ट, सविता नकर्मी, केशव राज पार्धे, वेद प्रसाद खनाल, प्रेम कुमार पोखरेल, शीतल सिंह उखेडा, कृष्णप्रसाद पौडेल, सुशीला सिंह, शिलुका लिंथेप, उदय प्रकाश लिम्बु, कृष्ण बहादुर खत्री, हेमन्ती साउद, राम माया गुरुङ, डा. पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्र प्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छत्तबहादुर बोगटी, हिरालाल सुनार, मान बहादुर दराई, जनक महत, र टहल बहादुर जिरेल छन् ।
यस वर्ष उत्कृष्ट पुरस्कार प्राप्त गर्ने प्रत्येक व्यक्तिले १ लाख रुपैयाँ, र निजामती सेवा पुरस्कार प्राप्त गर्ने ३० जनाले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।




