काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाएलम प्रतिबन्ध अगाडि चालु आर्थिक वर्षमा २ हजार ६ सय ६० नेपालीलाई मानवतस्करमार्फत विनाभिसा मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने क्रममा अमेरिकी सीमा सुरक्षा गस्तीले पक्राउ गरेको छ । चालु आर्थिक वर्षको ८ महिनामा २ हजार ६ सय ६० जना नेपालीहरू पक्राउ परेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।
२०२४ को जनवरीमा २०० जना, फेब्रुअरीमा २३० जना, मार्चमा १६०, अप्रिलमा ३१० र मे महिनामा १८० जना नेपालीहरू मेक्सिकोको सीमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गरेका छन् । सन् २०२३ को डिसेम्बरमा ४२० जना, नोभेम्बरमा ५५० जना र अक्टोबरमा ६१० जना गरी चालु आर्थिक वर्षको ८ महिनामा २६६० जना नेपालीहरू विनाभिसा अमेरिका प्रवेश गरेका छन् ।
आर्थिक वर्ष २०२४ का पछिल्ला महिनाहरूमा यो संख्यामा केही गिरावट देखिएको हो । यो संख्या बाइडेनले सीमाक्षेत्रमा एसाइलममा प्रतिबन्धहरू लगाउनुभन्दा ठिक अगाडिको हो । बाइडेन प्रशासनले जुनको पहिलो सातादेखि प्रतिबन्धहरू लागु गरेको थियो । उक्त प्रतिबन्ध अगाडि आर्थिक वर्ष २०२३ को १२ महिना र २०२४ को ८ महिनाको यो तथ्यांक विगतका वर्षहरूको तुलनामा निकै उच्च रहेको छ ।
२०१४ देखि २०२२ सम्म ९ बर्षको अवधिमा जम्मा ५ हजार १८० जना नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए । तर त्यसको तुलनामा २०२२ को अक्टोबरदेखिको २० महिनामा धेरै नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ ।
जुन संख्या ५ हजार ८ सय रहेको छ । यो संख्या केबल अमेरिका प्रवेशका क्रममा सिमा सुरक्षा गस्तीसँग जम्काभेट हुनेहरुको मात्र हो । अघिल्लो आर्थिक वर्ष २०२३ मा अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै ३ हजार १४० जना नेपालीहरू विनाभिसा मेक्सिकोको सीमाक्षेत्रबाट अमेरिका प्रवेश गरेका थिए ।
उक्त आर्थिक वर्षको पहिलो महिना २०२२ को अक्टोबरमा १७०, नोभेम्बरमा २२०, डिसेम्बरमा ३२०, २०२३ को जनवरीमा १४०, फरबरीमा १००, मार्चमा १३०, अप्रिलमा २६०, मेमा ४६०, जुनमा ४८०, जुलाईमा ३१०, अगस्तमा २४०, सेप्टेम्बरमा ३३० जना नेपालीहरू विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।
आर्थिक वर्ष २०२२ मा यसरी अमेरिका प्रवेश गर्ने नेपालीहरूको संख्या १ हजार ४९० थियो भने २०२१ मा ४२० जना नेपालीहरुमात्र विनाभिसा अमेरिका प्रवेश गरेका थिए । बाइडेन प्रशासनमा ७ हजार २ सय १० नेपालीहरू विनाभिसा प्रवेश गरेका छन् ।
जबकि ट्रम्प प्रशासनको ४ वर्षमा १ हजार ८५० जना नेपालीहरू विनाभिसा अमेरिका प्रवेश गरेका थिए । अर्थात् आर्थिक वर्ष २०१७ मा ६५०, २०१८ मा ७२०, २०१९ मा ३४० र २०२० मा १४० जना नेपालीहरू मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।
त्यस अगाडि २०१४ मा ४६०, २०१५ मा ४१०, २०१६ मा ५५० जना नेपालीहरू मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए । उनीहरू दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सीमा सुरक्षा गस्तीको जम्काभेटमा परेका हुन् ।
तीमध्ये कतिपय तत्काल अमेरिकामा रिहा भएका थिए भने कतिपयलाई अध्यागमन हिरासतमा राखिएको थियो । त्यसमध्ये केही अमेरिकाबाट देश निकालामा समेत परेका छन् । खसोखासबाट




