काठमाडौं । पछिल्लो वर्ष निजामती सेवामा प्रवेश गर्ने कर्मचारीहरूको संख्यामा गुल्मी जिल्लाले अग्रता लिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा गुल्मीबाट १०४ जनाले लोकसेवा पास गरी स्थायी जागिर पाएका छन् ।
गुल्मीको पछि स्याङ्जाबाट १०२, सर्लाहीबाट ९१, धनुषाबाट ७८ र कञ्चनपुरबाट ७३ जना निजामती सेवामा प्रवेश गरेका छन् । २०७९/०८० मा पनि गुल्मी पहिलो स्थानमा रहेको थियो, त्यसपछि स्याङ्जा, सर्लाही, जुम्ला र धनुषा थिए ।
लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईँका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ६८८ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका थिए, जसमा ७४४ महिला र १ हजार ९४४ पुरुष थिए ।
गत वर्ष मनाङ र मुस्ताङबाट कुनै उम्मेदवार सिफारिस नभएको थियो भने अरु जिल्लाबाट केही न केही संख्यामा निजामती सेवामा प्रवेश गरेका थिए । सिफारिस भएका उम्मेदवारहरूको औसत उमेर २९ वर्ष रहेको प्रवक्ता होमेगाईँले बताइन् ।
सर्लाहीबाट सबैभन्दा धेरै प्रतिस्पर्धा
लोकसेवामा दरखास्तको संख्या हेर्दा, सर्लाहीबाट १८ हजार ३२८ आवेदन परेको थियो । धनुषाबाट १६ हजार ६७३, सप्तरीबाट १६ हजार ५१४, महोत्तरीबाट १५ हजार ८३५, र बाराबाट १५ हजार ४२३ दरखास्त परेको थियो । पाँच जिल्लाबाट मात्रै ८२ हजार ७७३ दरखास्त परेको छ, जसले कुल आवेदनको १७.४८ प्रतिशत ओगटेको छ ।
तर, केही जिल्लामा लोकसेवामा आकर्षण न्यून देखिएको छ । मनाङबाट १०, मुस्ताङबाट ४९, रसुवाबाट ४५८, रुकुम पूर्वबाट ७३९, र डोल्पाबाट १ हजार २४ आवेदन परेको छ । यी पाँच जिल्लाबाट जम्मा २ हजार २८० आवेदन परेका छन्, जुन कुल दरखास्तको ०.४८ प्रतिशत मात्र हो ।
२ दर्जन विज्ञापनमा शून्य आवेदन
एक वर्षको अवधिमा लोकसेवा आयोगले प्रकाशित गरेका १ हजार ४५५ विज्ञापनमध्ये २४ विज्ञापनमा कुनै दरखास्त परेन । आयोगले लिएको परीक्षामा ६२ हजार १५० महिला र ६० हजार ३ पुरुष सहभागी भएका थिए । परीक्षामा अनियमित कार्य गरेको आरोपमा ९ जना उम्मेदवार कारबाहीमा परे, जबकि सुरक्षा निकाय र संगठित संस्थाबाट २९ जना कारबाहीमा परेका थिए ।




