काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी हप्ता भरि मनसुनी वायुको प्रभाव कायम रहने जानकारी दिएको छ । महाशाखाले बिहीबारसम्म देशको हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको भनेको छ । तराई क्षेत्रमा हप्ताको सुरुआतमा आंशिक बदली, बीचमा सामान्य बदली र अन्त्यमा आंशिकदेखि साधारण बदलीको अवस्था रहने बताइएको छ ।
“हप्ताको मध्य र अन्त्यतिर तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ,” महाशाखाले भनेको छ, “हिमाली र पहाडी क्षेत्रका एक-दुई स्थानमा सुरुआतमा हल्का वर्षा, मध्य र अन्त्यतिर केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा हप्ताको अन्त्यतिर वर्षा हुने सम्भावना छ ।”
महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले आइतवारसम्म विभिन्न क्षेत्रमा हल्कादेखि भारी वर्षा हुन सक्ने र त्यसपछि मौसममा क्रमिक सुधार आउने बताइन् । यसैबीच, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बर्दिया र बाँकेमा धान पाकिसकेको हुँदा भारी वर्षाले उत्पादनमा क्षति पुर्याउन सक्ने चेतावनी दिएका छन् ।
“यी क्षेत्रमा जेठको मध्यतिर रोपाइँ सुरु भएको थियो, र अब धान थन्काउने समय हो,” उनले भने, “यस बेला ठूलो वर्षा भएमा धान झर्ने र समयमै थन्काउन नसक्दा उत्पादनमा कमी आउन सक्छ ।” उनले यस वर्षको मनसुन अनुकूल रहँदा धान उत्पादनमा ५ देखि ७ प्रतिशतको वृद्धि हुन सक्ने अनुमान गरेका छन् ।
“यो वर्ष करिब ९९ प्रतिशत रोपाइँ सफल भएको छ, जसले गर्दा करिब डेढ लाख मेट्रिकटन धान उत्पादन हुने अपेक्षा छ,” उनले भने, “तर, धान भित्र्याउने बेलामा मौसमले राम्रो साथ दिन आवश्यक छ ।” गत आर्थिक वर्षमा धान उत्पादन ५७ लाख २४ हजार २३४ मेट्रिकटन पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४.३३ प्रतिशतले वृद्धि भएको हो । यो विगत चार वर्षको औसत उत्पादनभन्दा ५.०८ प्रतिशतले बढी हो ।




