काठमाडौं । आगामी केही दिनमा देशभर मौसममा परिवर्तन हुने अनुमान गरिएको छ । विभिन्न स्थानमा चट्याङ, मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
विभागले सोमबार जारी गरेको विशेष मौसम बुलेटिनमा भनिएको छ कि यो वर्षा विशेषगरी कृषि क्षेत्रमा प्रभाव पार्न सक्छ । त्यसैले किसानहरूलाई खेतीपाती सुरु गर्नुभन्दा अगाडि मौसमको अद्यावधिक जानकारी र पूर्वानुमान नियमित रुपमा हेर्न सल्लाह दिइएको छ । विशेष गरी, काटिसकेको धान खेतमै नछोड्न सुझाव दिइएको छ ।
अगौटे धान भित्र्याउने समय चलिरहेकोले, यथाशीघ्र मेसिनको प्रयोग गरेर धान भित्र्याउन राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालले सिफारिस गरेका छन् । उनले काटेको धान खेतमा नछोड्न र केही काँचो धानलाई चिउरा बनाउन प्रयोग गर्न सकिने बताएका छन् ।
महाशाखाका अनुसार, अहिले देशभर मनसुनी वायुको प्रभाव छ । बंगालको खाडीबाट आउने जलवाष्फयुक्त हावाका कारण आज दिउँसोबाट देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा हल्का वर्षा हुने सम्भावना छ, भने केही स्थानमा मध्यमदेखि भारी वर्षा पनि हुन सक्छ ।
सार्वजनिक बुलेटिनअनुसार, सुदूरपश्चिम, लुम्बिनी, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । बुधबारसम्म देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनुका साथै सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।




