धनगढी । कञ्चनपुरमा एक प्रहरी इन्स्पेक्टरसहितका कर्मचारीमाथि आक्रमण भएको छ । बुधबार साँझ पुनर्वास क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीमाथि आक्रमण हुँदा इन्स्पेक्टर महेशविक्रम शाहीसहितका कर्मचारीहरू कुटिएका हुन् ।
स्रोतका अनुसार घटना गस्तीमा गएको टोली र खडखडे खेलिरहेका व्यक्तिहरूबीच विवादपछि भएको हो । आक्रमणका क्रममा प्रहरीको भ्यानमा तोडफोड गरिएको छ भने इन्स्पेक्टर शाहीसहित पाँच जना प्रहरी सामान्य घाइते भएका छन् ।
राति करिब ९ बजे पुनर्वास नगरपालिका ७, च–गाउँमा इन्स्पेक्टर शाही नेतृत्वको प्रहरी टोली गस्तीमा रहेको बेला यो घटना भएको हो । खडखडे खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा विवाद सुरु भएको थियो ।
प्रहरीलाई नियन्त्रणमा लिने प्रयासपछि झगडा चर्कियो, र उक्त समूहका करिब दुई दर्जन मानिसले प्रहरीमाथि हातपात गरेका थिए । घटनापछि स्थिति झन् जटिल बनेपछि प्रहरीले व्याक भएर उपचारका लागि पुनर्वास नगरपालिका ६ स्थित टाउन हस्पिटल गएका थिए ।
प्रहरीले अहिले आक्रमणकारीहरूको खोजी गरिरहेको छ र पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाउने बताएको छ । इन्सपेक्टर शाही हालै पुनर्वास क्षेत्रमा सरुवा भएर आएका थिए ।




