काठमाडौं । साथीलाई बचाउने प्रयासमा नेपाली सेनाका कर्णेल मिलन केसीले ज्यान गुमाएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ४ चियानेस्थित सिन्धु बीच रिसोर्टमा सुतिरहेका साथीलाई उद्धार गर्न खोज्दा ३६ वर्षीय केसीले शनिबार पहिरोमा परेर प्राण त्यागेका हुन् ।
नेपाली सेनाको भक्तपुर खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा कार्यरत केसी दोलखाको भीमेश्वर नगरपालिकाका बासिन्दा थिए । उनी शुक्रबार राति दुई कोरियन नागरिकसहित सिन्धु बीच रिसोर्टमा बास बस्न गएका थिए । पहिरोका कारण एक कोरियन नागरिकको ज्यान गएको छ भने अर्का अझै बेपत्ता छन् ।
उक्त घटनामा उनीहरूको गाडी चालकको पनि मृत्यु भएको छ । शनिबार बिहान पहिरो खसेपछि कर्णेल केसीको टोली त्यहाँबाट सुरक्षित बाहिर निस्किए पनि कोरियन नागरिकलाई उद्धार गर्न उनी पुनः रिसोर्टमा फर्किएका थिए ।
तर, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी सन्तोष खड्काका अनुसार उद्धारको क्रममा थप ठूलो पहिरो खस्दा केसी पुरिएका थिए । पहिरोमा घाइते भएका केसीलाई उद्धार गरेर निकालिएको भएपनि केही बेरमै उनी बेहोस भएर ढलेका थिए ।
कर्णेलमा बढुवा भएका केसीले फूली लगाएर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्न बाँकी नै थियो । सेनाका अनुसार केसी संयुक्त राष्ट्रसंघीय मिशन अन्तर्गत सिरिया जान तयारीमा थिए । पहिरोले उनीसँगै गएका एक जना कोरियन पर्यटक पनि ज्यान गुमाएका छन्, भने उनीहरूको शव बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमार्फत काठमाडौं पठाइएको छ ।




