काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ । यसै सन्दर्भमा भारतको उत्तरपूर्वी असम र त्यस वरपरको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको कारण आगामी २४ घण्टाभित्र कोशी र बागमती प्रदेशका केहि स्थानहरूमा भारी वर्षा हुन सक्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
महाशाखाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा सम्भावित असरलाई ध्यानमा राख्दै प्रकोप र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हाल कोशी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । भोलि बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहन सक्ने जनाइएको छ ।
साथै, कोशी प्रदेशका केहि स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भोलि मध्यम वर्षा हुने सम्भावना छ । कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना महाशाखाले औंल्याएको छ ।




