काठमाडौं । त्रिभुवन राजपथ सडक अन्तर्गतको हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौं खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभागद्वारा भारी वर्षा हुन सक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि यातायातका साधन पुन: सञ्चालन भएका हुन् । हेटौँडा-पालुङ-नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालन भएका छन् ।
बाढी पहिराका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।
हेटौँडा-काठमाडौं जोड्ने सडक अन्तर्गत हेटौँडा-भैँसे-रातोमाटे खण्डको गोल्पिङबेँसीमा ठुल्ठूला ढुङ्गासहित खसेको पहिरो पन्छाउन चार वटा मेसिन प्रयोग गरेर काम भइरहेको छ ।
सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका ६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका २ सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका २ स्थित बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उहाँले जानकारी दिए ।
दक्षिणकाली-फर्पिङ सडक अन्तर्गत महालक्ष्मी खोलादेखि पाकेलसम्म र पाकेलदेखि फर्पिङसम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुई वटा मेसिन चलाइएको छ ।




