काठमाडौं । मकवानपुर हुँदै काठमाडौंलाई जोड्ने तीन वटा प्रमुख मार्ग, जो बाढी पहिरोका कारण अवरुद्ध भएका थिए, सञ्चालनमा आएका छन् । हेटौँडाबाट कुलेखानी हुँदै महालक्ष्मीखोला–चखेल–मातातीर्थ, फाखेल–फर्पिङ र सिस्नेरी–दक्षिणकाली–फर्पिङ जोड्ने सडकहरू आइतबार साँझदेखि सञ्चालनमा आएका हुन् ।
भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्डमा पर्ने कुलेखानी बाँध नजिकैको क्षेत्र बाढीले क्षतिग्रस्त गरेपछि डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालनमा ल्याइएको छ । बाढी पहिरोका कारण पुलसँग जोडिएको पहुँच मार्ग बगेको र केही ठाउँमा सडक पूर्ण रूपमा नष्ट भएकाले एक सातासम्म अवरुद्ध रहेका यी तीनवटै मार्गलाई सञ्चालनमा ल्याइएको हो ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रदेश र संघीय राजधानीलाई जोड्ने यी मार्गमा बाढी पहिरोले ठूला क्षति पुर्याएको बताउँदै अस्थायी उपायबाट मार्ग खुलाइएको जानकारी दिए ।
कुलेखानी–सिस्नेरी सडक आइतबार दिउँसोदेखि सञ्चालनमा आएको थियो, जबकि महालक्ष्मीखोला–चखेल–मातातीर्थ, महालक्ष्मीखोला–फाखेल–फर्पिङ, र सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकखण्डहरू यसअघि नै खुलिसकेका थिए ।
थानकोट–चित्लाङ, वज्रवाराही–कुन्छाल–पालुङ हुँदै हेटौँडा जोड्ने त्रिभुवन राजपथ पनि सञ्चालनमा रहेको छ । मन्त्रालयका सचिव अमृत श्रेष्ठले डाइभर्सनमार्फत अस्थायी रूपमा सञ्चालनमा ल्याइएका यी सडक जोखिमपूर्ण भएकाले सवारी चालक र यात्रुहरूले विशेष सावधानी अपनाउनु पर्ने बताएका छन् ।




