काठमाडौं । बडादसैं मनाउन जन्मथलो फर्कनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै जाँदा काठमाडौं उपत्यका छाड्नेहरूको लर्को लागिरहेको छ । यसका कारण लामो दूरीका सार्वजनिक यातायात र हवाई टिकट पाउन चुनौतीपूर्ण भइरहेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार, असोज १४ गतेदेखि २० गतेसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।
शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्र १६ हजार चार सय ६५ जनाले काठमाडौंबाट बाहिरिएको जानकारी दिइएको छ । दसैंका लागि उपत्यका छाड्नेहरूको सङ्ख्या बढेसँगै राजमार्ग र नाकाहरूमा गाडीको जाम हुने गरेको छ ।
कतिपय स्थानहरूमा सडक बिग्रिएर सवारीसाधन चलाउन मुस्किल भएको र यात्रुले थप सास्ती भोग्नुपरेको गाडी चालकहरूले बताएका छन् । बस र हवाई टिकट पाउन कठिन भएका कारण धेरैले घर जान नपाएको अनुभव सुनाएका छन् ।
कैलालीका लोकेश सिंह, जसले सुदूरपश्चिम जानका लागि टिकट पाएका छन्, भनेका छन्, “मैले पहिल्यै टिकट लिएकाले सिट पाएँ, तर मेरा साथीहरू टिकट नपाएर काठमाडौंमै छुटेका छन् । दसैंको बेला घर जान नपाउँदा नरमाइलो लागेको छ ।”
यात्रुले महँगो भाडा तिरेर बस र हवाई यात्रा गर्न बाध्य भइरहेका छन् । कतिपय यात्रुहरू टिकट नपाउँदा पनि बसका बोनट र मुडामा बसेर यात्रा गरिरहेका छन् । गोङ्गबु बसपार्कमा अछाम जान लागेका दीपकबहादुर खत्रीले भने, “वर्ष दिनको चाडमा घर जानैपर्छ । सिटका लागि टिकट पाएनौं, गाडीले भाडा मिलाएपछि बोनटमा बसेर भए पनि घर फर्किदै छु ।”
उनले जस्तै धेरै यात्रु टिकट नपाएर पनि बसको बोनट र मुडामा बसेर यात्रा गर्न बाध्य भइरहेका छन् ।




