काठमाडौं । मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेश लगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज तीन प्रदेशका पहाडी भूभागका हल्का वर्षाको सम्भावना रहेको छ । वर्षा भएपनि खासै ठूलो भारी वर्षाको सम्भावना छैन । मौसमविद्का अनुसार वर्षा भएपनि दसैंको टीका विथोल्ने किसिमको झरी भने पर्नेछैन ।
दिउँसो कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन एवम् चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ । न्यूनतम तापक्रम क्रमशः घट्दै गएकाले काठमाडौंमा सामान्य चिसो बढेको छ ।
अबको एक साता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज काठमाडौंको अधिकतम तापक्रम २७ देखि २९ सम्म र न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहनेछ ।




