काठमाडौं । दसैं सकिएसँगै बीपी राजमार्ग हुँदै राजधानी प्रवेश गर्ने सवारी साधनहरूको लामबद्धता देख्न सकिन्छ । धुलाम्मे सडक, साँघुरा बाटाहरू, खाल्डाखुल्डी र खोलाहरू पार गर्दै यात्रुहरुले अनेक सास्ती भोग्नुपरेको छ ।
बुधबार बिहान ओखलढुंगाबाट काठमाडौंतर्फ यात्रा सुरु गरेका एक यात्रुले काभ्रेको रोशी गाउँपालिका ९ स्थित नार्के पुग्न दिउँसोको २ बज्न लागेको बताउँछन् । ‘५/६ घण्टामा काठमाडौं पुगिएला भन्ने सोचेको थिएँ, तर १० घण्टामा पनि पुग्न सकिएको छैन,’ उनले भने ।
बीपी राजमार्गको काभ्रे क्षेत्रको भकुण्डे बेंसीदेखि नेपालथोकसम्मको १० किलोमिटरभन्दा बढी खण्ड असोजको बाढीले भत्काएको थियो । करिब दुई साता बन्द भएको यो राजमार्ग नयाँ ट्र्याक खोलेर खुला गरिएको छ, जसको खबर सुनेर धेरै यात्रु काठमाडौंका लागि हिँडेका थिए ।
‘जोखिम मोलेर यात्रा गर्नुपर्ने रहेछ, कतै पैदल हिँड्नुपर्ने, जाम पनि उस्तै,’ उनी भन्छन् ।
धनुषाबाट काठमाडौंका लागि यात्रामा निस्केका अर्का यात्रु भन्छन्, ‘उकालोमा साना गाडीहरू चल्न कठिन छ, यात्रुहरूलाई दुई ठाउँमा ओर्लनुपर्ने भयो । छोटो दूरीमा पुग्न भनिएपनि अहिले यात्रा निकै कष्टपूर्ण छ ।’
सिन्धुलीको फिक्कलका लागि काठमाडौंबाट यात्रु लिएर निस्किएका एक चालकले नयाँ ट्र्याक खोलिए पनि यात्रा कठिन रहेको बताए । ‘पहिले फिक्कल–काठमाडौं यात्रा ६ घण्टामा सकिन्थ्यो, अहिले १२ घण्टा लाग्छ,’ उनी भन्छन् । रामेछापबाट मोटरसाइकलमा काठमाडौं हिँडेका एक यात्रु पनि धुलोले भरिएका थिए । ‘बाटो खुलेको सुनेर आएको थिएँ, तर निकै सास्ती पाइयो,’ उनले भने ।
दसैं, तिहार जस्ता चाडपर्वमा बीपी राजमार्गमा सवारी चाप स्वाभाविक रूपमा बढ्ने गर्छ । यस वर्ष बाढी र पहिरोले गर्दा राजमार्गको धेरै भागमा क्षति पुगेको छ । कतै नयाँ ट्र्याक खोलिएर सवारी सञ्चालन भए पनि कतिपय स्थानमा एकतर्फी मात्र सवारी चलिरहेको छ, जसले गर्दा यात्रा कठिन भएको छ ।




