काठमाडौं । मौसम विभागले कार्तिक ३ र ४ गतेका लागि मौसम पूर्वानुमान जारी गरेको छ । शनिबार (कार्तिक ३) गते दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली हुँदै मुख्यतया मौसम सफा रहनेछ ।
पहाडी क्षेत्रका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । शनिबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारण बदली रहने र यी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
यस्तै बाँकी भूभागमा भने आंशिक बदलीसहित मौसम सफा रहने जनाइएको छ । आइतबार (कार्तिक ४) गते दिनभर पहाडी भूभागमा आंशिकदेखि साधारण बदली कायम रहनेछ भने देशभर मौसम सामान्यत: सफा रहनेछ । पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै विभागले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । मौसमले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।




