काठमाडौं । दशैंको समयमा पनि श्रम बेच्न विदेशिने नेपाली युवाहरूको लर्को रोकिएको छैन । चालु आर्थिक वर्ष २०८१/८२ को साउन, भदौ र असोज महिनामा वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूको सङ्ख्यामा खासै कमी देखिएको छैन ।
वैदेशिक रोजगार विभागका तथ्याङ्क अनुसार, साउनमा ५९ हजार ५७५ जना, भदौमा ५७ हजार ८८४ र असोजमा ५३ हजार ५२५ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
चाडपर्वको समयमा विदेशमा रहेका परिवारका सदस्य नेपाल फर्केर पर्व मनाउने बेला भएपनि स्वदेशमा रोजगारीको अवसर नपाएकाले धेरै युवा रोजगारीको खोजीमा विदेश जान बाध्य भएका छन् । वैदेशिक भिसाको म्याद सकिने डरले दसैँजस्तो महान् चाडपर्व छोडेर पनि युवाहरू विदेशिनुपरेको हो ।
गत आर्थिक वर्षको साउन, भदौ र असोजमा एक लाख ६२ हजार ९०४ जना विदेश गएका थिए भने चालु वर्षमा यो सङ्ख्या बढेर एक लाख ७० हजार ९८४ पुगेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार स्वदेशमा रोजगारको अवसर अभावले चाडपर्वको समयमा पनि विदेश जाने युवाहरूको चाप बढेको हो ।
वैदेशिक रोजगारीको इतिहासमा २०७९/८० को भदौमा सबैभन्दा धेरै ७६ हजार ४०३ श्रमिकले श्रम स्वीकृति लिएका थिए, जुन अहिलेसम्मकै उच्च सङ्ख्या हो ।




