वीरगंज । आम जनता पार्टी (आजपा) ले मुलुकमा बढ्दो भ्रष्टाचारका विरुद्ध वीरगंजमा बृहत विरोधसभा गरेको छ । शनिबार आयोजित सभामा शक्ति प्रदर्शन गर्दै आजपाले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्न माग गरेको छ ।
सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले वीरगंजको ऐतिहासिक महत्त्वलाई शासक वर्गले नजरअन्दाज गरेको आरोप लगाउँदै यसलाई देशको आर्थिक राजधानीको मान्यता दिनुपर्ने बताए ।
“वीरगंज देशको अर्थतन्त्रका लागि महत्त्वपूर्ण छ”
साहले भने, “वीरगंजले देशलाई सर्वाधिक राजस्व योगदान गरेको छ । यहाँका उद्योगी व्यापारीको श्रम र लगानीबाट देशको आर्थिक स्थिति चलिरहेको छ । तर, वीरगंजको विकास उपेक्षित छ । यथाशिघ्र यसलाई आर्थिक राजधानी घोषणा गरिएन भने आजपा चुप लागेर बस्ने छैन ।”
साहले वीरगंजलाई दुहुनो गाईका रूपमा मात्र प्रयोग गरिएको भन्दै, यहाँको इतिहास, गौरव र सम्मानलाई संरक्षण नगरेकोमा कडा आलोचना गरे ।
“भ्रष्टाचार नियन्त्रणमा सरकार असफल”
आजपाले भ्रष्टाचार नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारकै संरक्षण र मिलेमतोमा भ्रष्टाचार व्यापक भएको दाबी गर्यो ।
“सरकार आफैंले भ्रष्टाचारमा संलग्नलाई संरक्षण गरिरहेको छ,” साहले भने । “भ्रष्टाचारका ठूला काण्डहरू लुकाएर राखिएका छन्, भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरू नै भ्रष्टाचारमा लिप्त छन् । यस्तो अवस्थामा देश समृद्ध हुने आशा गर्नु मूर्खता हुनेछ ।”
वीरगंजलाई आर्थिक राजधानी घोषणा गर्न माग
साहले काठमाडौं प्रशासनिक राजधानी र पोखरा पर्यटकीय राजधानी भएसँगै वीगंजलाई आर्थिक राजधानी किन नबनाउने भन्दै सरकारलाई प्रश्न गरे । उनले भने, “वीरगंज र यस क्षेत्रका उद्योगहरूबाट आएको राजस्वले देश चलिरहेको छ । तर, विकास भने शून्य छ । आजपाले यो अन्याय सहने छैन ।”
विशेष सहभागिता
घण्टाघरमा आयोजित सभामा आजपाका पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा, वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष समिना हुसेन, अशोक लामा, राजन यादव, सियाराम कुशवाहा, उमेश कुशवाहा, विजय यादव निर्विज, रामशरण यादव लगायत नेताहरूको उपस्थिति रहेको थियो । आजपाले देशभर भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने र वीरगंजलाई आर्थिक राजधानी बनाउन सशक्त पहल गर्ने प्रतिबद्धता जनाएको छ ।




