काठमाडौं । ललितपुरको शंखमुलस्थित वाग्मती नदी किनारमा गैर आवासीय नेपाली संघ (एनआरएन) ले निर्माण गरेको ३२ रोपनी क्षेत्रफलमा फैलिएको शंखमुल पार्कले आफ्नो प्रारम्भिक सौन्दर्य गुमाउँदै गएको छ ।

उपत्यकामा खुला स्थानको अभावलाई सम्बोधन गर्दै निर्माण गरिएको यो पार्क केही समयसम्म सबै उमेर समूहका लागि आकर्षणको केन्द्र बन्यो । तर, अहिले यसको अवस्था अव्यवस्था र प्राकृतिक प्रकोपले थप नाजुक बनेको छ ।

केही समयअघि आएको बाढीले शंखमुल पार्क र आसपासका क्षेत्र डुबानमा पार्यो । हालसम्म पनि पार्कको व्यवस्थापनमा सुधार नआउनु, नियमित सरसफाइको अभाव र संरचनाहरूको मर्मत नहुनु प्रमुख समस्या बनेको छ । यसले पार्क घुम्न आउने आगन्तुकहरूमा निराशा थपेको छ ।

स्थानीय बासिन्दा र पर्यावरण प्रेमीहरूले शंखमुल पार्कको संरक्षणका लागि ठोस कदम चाल्न सरोकारवाला निकायहरूलाई आग्रह गरिरहेका छन् । पार्कको नियमित मर्मत, डुबान रोकथामका लागि दिगो उपाय र सरसफाइमा ध्यान पुर्याउनु पर्ने उनीहरूको माग छ ।

विगतमा सांस्कृतिक तथा मनोरञ्जनात्मक स्थलका रूपमा परिचित शंखमुल पार्कको हराएको पहिचान फर्काउन स्थानीय प्रशासन र सम्बन्धित निकायको सक्रियता अहिलेको प्रमुख आवश्यकता बनेको छ ।







