काठमाडौं । गुल्मीको कालिगण्डकी गाउँपालिका १ स्थित देउराली माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
अनुसन्धानका क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित संलग्न व्यक्तिहरूले नियुक्ति प्रक्रियामा कानूनी प्रक्रिया नअपनाई बेपत्ता व्यक्तिको नक्कली शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी शिक्षक नियुक्ति दिएको पाइएको छ ।
अनियमितताको विवरण:
– शिक्षण सिकाइ अनुदान अन्तर्गतको रिक्त शिक्षक पदमा नियुक्ति गर्ने क्रममा कुनै कानूनी प्रक्रिया पूरा नगरी नक्कली कागजात प्रयोग गरिएको ।
– बेपत्ता व्यक्तिको प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति पत्र, हाजिरी विवरण बनाएर गैरकानूनी रूपमा पारिश्रमिक निकासा गरिएको ।
– अनुपस्थित शिक्षकको नाममा वार्षिक तलब झुट्टा कागजात बनाई निकासा लिई लेखापरीक्षणसम्म गरि दुरुपयोग गरिएको ।
अनुसन्धानपछि दोषी ठहर भएका व्यक्तिहरूलाई विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।




