काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गरेको परीक्षणमा सर्लाहीमा उत्पादन भएका गोलभेँडामा अत्यधिक विषादी भेटिएको छ ।
बुधबार गरिएको परीक्षणका क्रममा समितिले २० वटा तरकारीको नमुना संकलन गरी विषादी परीक्षण गर्दा सर्लाहीबाट ल्याइएका दुई गोलभेँडाका नमुनामा विषादीको उच्च मात्रा पाइएको हो ।
परीक्षणका अनुसार, एक गोलभेँडामा ७२.७५३ प्रतिशत र अर्कोमा ८३.६५९ प्रतिशत रोकावट अर्गानोफस्फेट विषादीको मात्रा रहेको देखिएको छ । हाल बजारमा कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।
३५ प्रतिशतभन्दा कम मात्राको विषादी भए उपभोग योग्य मानिए पनि, ३५ देखि ४५ प्रतिशतसम्मको विषादी रहेको तरकारी केही दिनपछि मात्र खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी विषादी भएको तरकारी पूर्ण रूपमा अस्वस्थकर मानिन्छ ।
यसअघि पनि समितिले सर्लाहीबाट ल्याइएका सिमी, बोडी लगायतका तरकारीमा अत्यधिक विषादी भेटिएको जनाएको थियो ।




