एजेन्सी । संसारभरका पर्यटकलाई आकर्षित गर्दै आएको दुबई निरन्तर विकासको नयाँ आयाम स्थापित गरिरहेको छ । बुर्ज खलिफा, मानव निर्मित टापुहरू तथा अन्य भव्य संरचनाहरू बनाएर विश्वलाई चकित पार्ने दुबईले अब नयाँ परियोजना ल्याएको छ – ‘आइलैंड्स इन द स्काई’।
दुबईको आकाशमा १०० मिटर उचाइमा निर्माण हुनेछ लक्जरी रिसोर्ट
दुबईको पहिचान परिवर्तन गर्दै, अब ‘थर्मे दुबई–आइलैंड्स इन द स्काई’ नामक भव्य रिसोर्ट निर्माण गर्न लागिएको छ । यो रिसोर्ट जमिनबाट करिब १०० मिटर उचाइमा निर्माण गरिनेछ, जसले दुबईको स्काईलाइनलाई पूर्ण रूपमा नयाँ स्वरूप दिनेछ ।
थर्मे ग्रुपद्वारा निर्माण गरिने यो अनौठो फ्लोटिंग रिसोर्टमा सुन्दर बगैंचा, झरनासहितको पोखरी, हरियालीले भरिएको वातावरण र विभिन्न रंगीन कार्यक्रम आयोजना गर्न मिल्ने विशेष क्षेत्रहरू निर्माण गरिनेछ । यो परियोजना दुबईको जाबिल पार्कस्थित रोयल प्यालेसको छेउमा बन्नेछ ।
रिसोर्टको विशेषताहरू
– ५ लाख वर्ग फिट क्षेत्रफलमा फैलिने विशाल संरचना
– थर्मल ब्रिजसहितको अत्याधुनिक डिजाइन
– डेकमा रूखहरू र हरियाली, जसले आकाशमै प्राकृतिक वातावरण सिर्जना गर्ने
– हरेक सिजन अनुसार सुविधाहरू उपलब्ध, विशेष गरी रात्री समारोहका लागि डिजाइन गरिएको
– १७ लाख पर्यटकलाई आकर्षित गर्ने क्षमता
४७ अर्बको लागत, २०२८ सम्म सम्पन्न हुने लक्ष्य
सीएनएनको रिपोर्टअनुसार, यो विलासी परियोजना डिलर स्कोफिडियो र रेनफ्रो आर्किटेक्चर फर्मले डिजाइन गरेको हो । यसका लागि दुबई सरकारले करिब ४७ अर्ब रुपैयाँ खर्च गर्नेछ । थर्मे ग्रुपका सीईओ रोबर्ट हानियाका अनुसार, यो परियोजना भविष्यको वास्तुकलाको उत्कृष्ट उदाहरण बन्नेछ ।
निर्माण कार्य सन् २०२६ मा सुरु भई २०२८ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस परियोजनाले दुबईलाई फेरि एक पटक विश्वभर चिनाउने मात्र होइन, भविष्यको स्मार्ट सिटी निर्माणतर्फ महत्वपूर्ण कदम सावित गर्नेछ ।






