काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध परेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद भ्रष्टाचार मुद्दामा विशेष अदालतमा अन्तिम सुनुवाइ अघि बढेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ । यसअघि न्यायाधीश कोइरालाको बिदाका कारण सुनुवाइ रोकिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमडीएमएस परामर्श सेवा खरिदमा अनियमितता भएको आरोप लगाउँदै ०८० चैत १५ गते दिगम्बर झासहित १९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
९१ करोड भ्रष्टाचारको आरोप
अख्तियारले सार्वजनिक खरिद ऐन उल्लंघन, आवश्यक प्रक्रिया नपुर्याई सम्झौता लुकाएको लगायतका आरोपमा ९१ करोड ९८ लाख ३० हजार बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
साथै, खरिदमा खर्च भइसकेको २३ करोड २० लाख ६९ हजार असुल गर्न माग गरिएको छ । आयोगका अनुसार, तत्कालीन अध्यक्ष झा र पुरुषोत्तम खनालले प्राविधिक मूल्यांकन प्रतिवेदन तथा आर्थिक प्रस्तावसम्बन्धी कागजात गायब पारेको आरोप लागेको छ ।
प्रतिवादीहरू
मुद्दामा दिगम्बर झासहित नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन वरिष्ठ अधिकारीहरू पुरुषोत्तम खनाल, आनन्दराज खनाल, मीनप्रसाद अर्याल, विनोदचन्द्र श्रेष्ठ, दीपेश आचार्य, सुरेन्द्रलाल हाडा, रेवतीराम पन्थ, सन्दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, अच्युतानन्द मिश्र, विजयकुमार राय यादव, प्रतीक्षा पौडेल र नीराजन कोइराला प्रतिवादी छन् ।
कम्पनीतर्फ संलग्न दातुक मोहम्मद नुर अमिन, दातुक मोहम्मद शिहाब, अनुज सिंह, जमिल अहमद, कवीन्द्र राज मल्ल तथा न्युमिरा नामक दुई कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । विशेष अदालतमा सुनुवाइ जारी रहेको छ ।




