काठमाडौं । संघीयतामा मुलुक गएको नौ वर्ष बितिसक्दा पनि स्थानीय तहमा कर्मचारी व्यवस्थापनको समस्या अझै ज्यूँका त्यूँ छ । प्रमुख प्रशासकीय अधिकृतको खोजीमा बारास्थित पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह जैसवाल सिंहदरबार धाउनु पर्ने स्थिति उत्पन्न भएको छ ।
सोही क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेका मेयर र कर्मचारी प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालबीच भनाभन चर्किएपछि प्रहरी नै बोलाउनु परेको छ । पचरौता नगरपालिकामा लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा प्रशासन चलिरहेको छ ।
हाल त्यहाँ गौरी साह निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छिन् । स्थायी प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै मेयर जैसवाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका थिए ।
मन्त्रालयमा भनाभन, प्रहरीको हस्तक्षेप
मन्त्रालय पुग्दा कर्मचारी प्रशासन महाशाखाका प्रमुख बलराम रिज्यालले पटकपटक फोन नगरेको तथा कर्मचारी नपठाएको गुनासो राखेपछि मेयर जैसवाल र रिज्यालबीच विवाद उत्कर्षमा पुगेको थियो ।
मेयर सिंहले रिज्याललाई “तपाईं किन फोन उठाउनुहुन्न ?” भनेर प्रश्न गर्दा रिज्यालले “मेरो फोन उठाउँ या नउठाउँ, मेरो इच्छा” भन्ने जवाफ दिएपछि विवाद झन् चर्किएको थियो । सामान्य प्रशासन मन्त्रालयका अनुसार मेयर र सहसचिवबीचको भनाभनले उग्ररूप लिएपछि मन्त्रालयले प्रहरीलाई खबर गर्नुपरेको थियो । विवाद मिलाउन सिंहदरबार वृत्त र सिंहदरबार सुरक्षा गणका सुरक्षाकर्मीहरू मन्त्रालय पुगेका थिए ।
मन्त्रीको हस्तक्षेपपछि निर्णय
विवादपछिको अवस्थालाई मध्यनजर गर्दै मेयर जैसवालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग गुनासो पोखेका थिए । उनले प्रमुख प्रशासकीय अधिकृत खटाउनका लागि पटकपटक सम्पर्क गर्दा कर्मचारी प्रशासन महाशाखा प्रमुख रिज्यालले फोन नउठाएको तथा भेट्दा अमानवीय व्यवहार गरेको बताए। मन्त्री गुप्ताले सहसचिवमाथि कारबाही गर्ने आश्वासन दिएपछि मेयर बारा फर्कने तयारीमा छन् ।
यही विवादकै बीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साँझ ३९ जना उपसचिवको पदस्थापन गरेको छ । पचरौता नगरपालिकाका लागि नरेन्द्र परियारलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ ।
यद्यपि, मन्त्रालयले पत्र पठाए पनि परियार अझै कार्यभार सम्हाल्न नआएकाले मेयर सिंह ढुक्क भएका छैनन् । यस विषयमा थप बुझ्न कर्मचारी प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालसँग सम्पर्क प्रयास गर्दा उनको मोबाइल स्वीच अफ भएकाले प्रतिक्रिया लिन सकिएन ।




