काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बलभद्र प्रसाद दासविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरेपनि अदालतले सफाइ दिएको छ । अख्तियारले दासविरुद्ध कुल रु ७७ करोड १९ लाख २८ हजार ८६०.२४ बिगो कायम गरी भ्रष्टाचारको कसुरमा सजाय हुनुपर्ने माग गर्दै मुद्दा दायर गरेको थियो ।
आरोपपत्रमा के थियो ?
अख्तियारका अनुसार, दासले भ्रष्टाचार निवारण ऐनका विभिन्न दफाहरू उल्लंघन गर्दै निजी तथा पारिवारिक नाममा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेका थिए । आयोगले दासकी पत्नी पुनम दास समेतको नाममा रहेको सम्पत्ति जफत गर्नुपर्ने माग गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले अवैध रूपमा आर्जित सम्पत्ति जफत तथा नपुग रकम रु ३ करोड ४४ लाख ३६ हजार ४४.७८ आरोपीको नाममा रहेको जग्गा-जमिनबाट असुल उपर गर्नुपर्ने माग गरेको थियो ।
विशेष अदालतको फैसला
विशेष अदालतले २०८० फागुन ६ गतेको फैसलामा बलभद्र प्रसाद दासलाई सफाइ दिने निर्णय गरेको छ । अदालतले अख्तियारले पेश गरेको प्रमाण अपर्याप्त रहेको ठहर गर्दै मुद्दा खारेज गरेको हो । विशेष अदालतको फैसलापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आगामी कदम बारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरिएको छैन ।




