एजेन्सी । बलिउड अभिनेत्री नरगिस फाखरीले लस एन्जलसमा आयोजित एक निजी समारोहमा आफ्ना प्रेमी टोनी बेगसँग विवाह गरेकी छन् । टाइम्स अफ इन्डियाका अनुसार, उनीहरू हालै एक साधारण समारोहमा विवाह बन्धनमा बाँधिएका हुन्, जहाँ दुवै पक्षका नजिकका परिवारका सदस्यहरू र साथीहरूको मात्र उपस्थित थिए ।
रिपोर्टका अनुसार, गोपनीयता कायम राख्न दम्पतीले विवाह समारोहको कुनै पनि तस्बिर नखिचिएको उल्लेख गरेका छन् । विवाहपछि उनीहरू हाल स्विट्जरल्यान्डमा हनिमून मनाइरहेका छन् । नरगिसले आफ्नो इन्स्टाग्राम स्टोरीमा टोनी बेगसँगको तस्वीर समेत साझा गरेकी छन् ।
नरगिस र टोनी बेगबीच तीन वर्षदेखि प्रेमसम्बन्ध रहेको बताइएको छ । टोनीलाई कश्मीरी मूलका व्यापारी मानिन्छ, जो हाल लस एन्जलसमा बस्दै आएका छन् । यसअघि नरगिस फाखरी बलिउड अभिनेता उदय चोपडासँग सम्बन्धमा रहेकी थिइन् । उनीहरू २०१३ देखि प्रेम सम्बन्धमा थिए, तर २०१९ मा उनीहरूको ब्रेकअप भएको थियो ।
नरगिस फाखरीले रणबीर कपूरसँगको ‘रकस्टार’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनले ‘मद्रास क्याफे’, ‘फटा पोस्टर निकाला हिरो’, ‘मैं तेरा हिरो’, ‘सगसम’, ‘अजहर’, ‘ढिशूम’, र ‘तोरबाज’ जस्ता फिल्महरूमा अभिनय गरिसकेकी छन् ।






