महोत्तरी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गरिएको कार्यसम्पादन मूल्यांकनमा महोत्तरीका स्थानीय तहहरू कमजोर देखिएका छन् । आइतबार प्रकाशित मूल्यांकन प्रतिवेदन अनुसार, स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्न प्रयोग गरिएका विभिन्न सूचकहरूमा महोत्तरीका अधिकांश स्थानीय तह कमजोर देखिएका हुन् ।
कतिपय स्थानीय तहहरूले ८० अंकसम्म प्राप्त गरेपनि महोत्तरीका स्थानीय तहहरू ४७.३३ भन्दा माथि उक्लन सकेका छैनन् । जिल्लामा सबैभन्दा बढी ४७.३३ अंक ल्याउँदै पिपरा गाउँपालिका पहिलो स्थानमा रहेको छ भने ३०.७० अंकसहित सोनमा गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ ।
शीर्ष स्थान हासिल गर्ने स्थानीय तहहरू:
– पिपरा गाउँपालिका – ४७.३३ अंक
– बर्दिवास नगरपालिका – ४६.८५ अंक
– महोत्तरी गाउँपालिका – ४६.६६ अंक
– भंगाहा नगरपालिका – ४६.२० अंक
– लोहरपट्टी नगरपालिका – ४४.८३ अंक
– मनरा सिस्वा नगरपालिका – ४३.०३ अंक
त्यस्तै, रामगोपालपुर नगरपालिकाले ४२, जलेश्वर नगरपालिकाले ४१.०१, सम्सी गाउँपालिकाले ४०.६९, बल्बा नगरपालिका, औरही नगरपालिका र एकडारा गाउँपालिकाले ३९, तथा मटिहानी नगरपालिकाले ३६.३१ अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।
केही स्थानीय तहले शून्य अंक प्राप्त गरे
वित्त आयोगले विभिन्न १७ वटा सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरेको थियो । निर्धारित समयमा गाउँसभा तथा नगरसभा नगरेका, विद्युतिय अनलाइन पोर्टलमा तोकिएको समय सीमाभित्र विवरण प्रविष्टि नगरेका विषयलाई मूल्यांकनमा समावेश गरिएको थियो । यस मूल्यांकनमा बर्दिवास, औरही, भंगाहा, बल्वा, एकडारा र महोत्तरी गाउँपालिकाले शून्य अंक प्राप्त गरेका छन् ।
वित्तीय अनुदान कटौतीको सम्भावना
१७ वटै सूचकमा जिल्लाका स्थानीय तहहरू कमजोर देखिएपछि आयोगको सिफारिसमा प्रदेश तथा संघ सरकारले आर्थिक वर्ष २०८१/८२ मा प्रदान गरिने वित्तीय समानिकरण अनुदान कटौती गर्ने सम्भावना रहेको आयोगले जनाएको छ ।




