काठमाडौं । समुद्री सतहबाट ५६१ मिटरको उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल एवम् शक्तिपीठ मौलाकालिका भगवती मन्दिर राष्ट्रको मध्यभागमा अवस्थित छ । यो पवित्र स्थल ऋषिहरूको तपोभूमि देवघाट क्षेत्र परिसर भित्र पर्दछ । पूर्व-पश्चिम राजमार्गको नारायणी पुलबाट करिब ४ कि.मि. उत्तरतर्फ गैंडाकोट नगरपालिका, वडा नं. १ मा रहेको यो मन्दिर धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण छ ।
ऐतिहासिक पृष्ठभूमि
प्राचीन कालदेखि पूजाआराधना गरिँदै आएको यो स्थल पन्ध्रौँ शताब्दीको अन्त्यतिर (करिब ५०० वर्ष पहिला) पाल्पाका राजा मणिमुकुन्द सेनको शासनकालमा सैनिक टुकडी स्थापनासँगै शक्ति पीठका रूपमा स्थापित भएको थियो । राजा सेनले देवघाटधाममा चक्रवर्ती शिला स्थापनासहित तीर्थवास गरेका थिए भने यहाँका सैनिकहरूलाई शक्ति आराधनाका लागि मौलाकालिका भगवतीको पूजा–अर्चना गर्ने प्रथा बसालेका थिए ।
उनको शासनकालपछि स्थानीय पिनाली र सुनारी मगर समुदायले मन्दिरको पूजाआजा गर्दै आएका थिए । कालान्तरमा गाउँलेहरूले आलोपालो गरी पूजा सञ्चालन गरेका थिए । वि.सं. १९९० सालको भूकम्पले मन्दिर र ठूलो सालको रुख भत्किएपछि पूजापाठको प्रथा क्रमश: हराउँदै गयो ।
मन्दिर पुनर्निर्माण र विकास यात्रा
वि.सं. २०३५ सालमा गैंडाकोटका स्वर्गीय काशीनाथ पौडेलले स्वप्नमा मौलाकालिकाको दर्शन पाएपछि, तत्कालीन हवल्दार कुमानसिंह गुरुङसहित स्थानीय बासिन्दाहरूको सहयोगमा सानो मन्दिर निर्माण गरी बडादशैं र चैते दशैंमा पूजा सुरु गरियो ।
वि.सं. २०३२ सालदेखि ब्राह्मणद्वारा पूजा गरिन थालेको थियो भने वि.सं. २०३८ सालको बडादशैंदेखि धार्मिक सेवा समितिले संस्थागत रूपमा पूजा आरम्भ गर्यो । वि.सं. २०४३ साल वैशाखदेखि हप्ताको दुई दिन मङ्गलबार र शनिबार पूजा हुन थाल्यो ।
वि.सं. २०५१ सालमा भक्तजनहरूको आगमन बढ्दै गएपछि मध्यक्षेत्र प्रहरी तालिम केन्द्र, भरतपुर चितवनका प्रहरी उपरीक्षक श्री ज्ञानेन्द्रविक्रम महतको प्रेरणा, धार्मिक सेवा समितिको सक्रियता र स्थानीय भक्तजनहरूको सहयोगमा वि.सं. २०५३ सालमा तीन तले पक्की मन्दिर निर्माण गरियो । वि.सं. २०५३ साल चैतमा ज्ञानेन्द्रविक्रम महतकै प्रमुख आतिथ्यतामा नवनिर्मित मन्दिर समुद्घाटन गरियो ।
मौलाकालिका भगवतीको विशेषता
शक्तिस्वरूपा मौलाकालिका भगवतीको आराधना गर्नाले मनले चिताएको मनोकांक्षा पूरा हुने, आत्मसन्तुष्टि प्राप्त हुने जनविश्वास रहिआएको छ । भक्तजनहरूका अनुसार भगवतीको प्रार्थना गर्दा दु:ख, संकट तथा विपत्तिबाट मुक्ति प्राप्त हुन्छ ।
नेपाल मात्र नभई छिमेकी राष्ट्रहरू भारत, भुटान तथा अन्य मुलुकहरूबाट पनि शक्ति उपासकहरू यहाँ आउने गर्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरू समेत मौलाकालिका भगवतीको दर्शनका लागि आइरहने गर्छन् ।
मन्दिर क्षेत्रका महत्वपूर्ण स्थलहरू
मौलाकालिका मन्दिर प्रवेशद्वार नजिकै
– श्री सिद्धिविनायक गणेश मन्दिर
– श्री राधाकृष्ण मन्दिर
– देउराली भञ्ज्याङको सिँढी मार्गमा देउराली देवीको खुला मन्दिर
त्यसैगरी, मौलाकालिका मन्दिर प्राङ्गणभित्र
– हवनकुण्ड
– भैरव देवी मन्दिर
– ॐ नम: शिवाय मठ
– शिवलिङ्ग मठ
– तुलसी देवीको मठ
– मुख्य प्रवेशद्वारमा गणेश र सरस्वतीका मूर्तिहरू
संरक्षण र संवर्द्धनको आवश्यकता
राष्ट्रको गौरव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त मौलाकालिका भगवतीको मन्दिर हाम्रो पहिचान हो । यो गैंडाकोटबासीको मात्र नभई सम्पूर्ण नेपालीहरूको धरोहर हो । यस मन्दिरको संरक्षण तथा संवर्द्धन गर्नु हामी सबैको जिम्मेवारी हो ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको रूपमा यस मन्दिरलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक छ । मौलाकालिका भगवतीको दर्शन गरी पुण्य कमाऔं र आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको विकासमा योगदान पुर्याऔं !




